३० आश्विन २०७८, शनिबार

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कठिन जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले एंगर्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउनको लागि किलियान एम्बाप्पे र डानिलो पेरेराले समान एक–एक गोल गरे । एंगर्सको लागि एन्जेलो फुल्गिनी गोल गरे ।

पीएसजी दक्षिण अमेरिकी स्टारहरू लियोनेल मेस्सी, एन्जेल डि मारिया, लियनार्डो पारेडेस, नेयमार र मार्किन्होसबिना नै मैदानमा उत्रेको थियो ।

खेलको ३६ औं मिनेटमा एन्जेलो फुल्गिनीले गोल गर्दै एंगर्सलाई अग्रता दिलाएका थिए । ६९ औँ मिनेटमा डानिलो पेरेराले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८७ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दैै पीएसजीलाई पुनरागमन जित दिलाए । भिडियो एसिस्टेन्ट रेफ्रीले सम्भावित ह्याण्डबलका लागि सङ्केत गरेपछि रेफ्रीले भिडियो रिभ्यूको मद्दतले पीएसजीलाई पेनाल्टी प्रदान गरेको थियो ।

यो जितसँगै १० खेलमा २७ अंक बटुल्दै पीएसजी लिगको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV