२९ आश्विन २०७८, शुक्रबार

पाल्पा । पाल्पामा पनि शुक्रवार बिहान १० बजेर २ मिनेटको शुभसाइतमा विजयादशमीको टीका लगाइएकोे छ । नेपालीहरुको महान् पर्व दशैँमा यसवर्ष यहाँ त्यति चहलपहल देखिएन ।

टीका ग्रहण गर्न र आशीर्वाद लिन नागरिकहरु घरभित्रै सीमित रहेको पाइएको छ । कोरोना महामारीको जोखिम अझैपनि रहेकाले परिवारभित्रै मान्यजनका हातबाट टीका ग्रहण गरेर दशैँ मनाइएको बताउनुहुन्छ पाल्पा रामपुरका दीपेन्द्र भट्टराई ।

“कोरोनाको असर अझैपनि कायमै छ, गतवर्ष र यसवर्ष घरपरिवारसँगै स्वास्थ्यका मापदण्ड अपनाएर टीका ग्रहण गर्ने काम भयो, बिगतका वर्षमा जस्तो यस वर्ष दशैँको खासै उमङ्ग छैन, परम्परा धान्ने काम मात्रै भयोे” उहाँले भन्नुभयो ।

पहिलेका वर्षहरुमा मान्यजनका हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन गाउँ गाउँमा आज टीकाको दिन निकै चहलपहल हुन्थ्यो । यस वर्षको दशैँमा अघिल्लो वर्षभन्दा केही बढी भएपनि आफन्त र नातेदारसँग मात्रै टीका ग्रहण गर्ने र आशीर्वाद थाप्ने गरिएको स्थानीय रुद्र नेपाली बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला त टीकाको शुभसाइतमा घरमा टीका लगाएर छरछिमेक र आफन्तकहाँ राति अबेरसम्म पनि पालैपालो पुग्ने गरिन्थ्यो, अहिले त्यसरी टीका लगाउने प्रचलन हट्दै गएको छ, कोरोनाको असरले पनि होला परिवार र आफन्तबीच मात्रै टीका लगाउने गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

LIVE TV