२९ आश्विन २०७८, शुक्रबार

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवका दाजस चन्द्रविक्रम चन्द ‘वीरजंग’ को निधन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका वीरजंग विप्लवका सहोदर जेठा दाजु हुन् । उनको आज (शुक्रबार) बिहान भारतको नयाँदिल्लीमा ६१ वर्षको उमेरमा निधन भएको हो ।

वीरजंग लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्याले ग्रसित थिए । उनको दिल्लीस्थित म्याक्सिस अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । कपिलवस्तुको शिवराज गढीमा बस्दै आएका वीरजंग माओवादी जनयुद्ध कालमा पर्वत र बाग्लुङको ईन्चार्ज थिए ।

पछि माओवादी टुक्रिएर विप्लव नेतृत्वमा नेकपा बनेपछि उनी उक्त पार्टीका केन्द्रीय सदस्य थिए । अघिल्लो सरकारका पालामा नेकपालाई प्रतिबन्ध लगाएपछि वीरजंग पनि पक्राउ परेका थिए । केही महिनाअघि मौ उनी चितवन कारागारबाट रिहा भएका थिए । हाल उनका दुई छोरा र एक श्रीमती छन् । उनी करिब १९ महिना जेल बसेका थिए ।

वीरजंगको शव शुक्रबार नै शिवराज गढीस्थित घरमा ल्याइने र शनिबारसम्म अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV