२९ आश्विन २०७८, शुक्रबार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अनावश्यक आशंका र टीका–टिप्पणी गर्नाले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्ने बताएका छन् । दशैंको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिकाप्रति प्रतिबद्धता जनाएका हुन् ।

उनले आफू न्यायपालिकाको संवेदनशीलताप्रति सचेत र सजग रहेको बताएका छन् । पछिल्लो समय मन्त्रिपरिषद विस्तारका क्रममा प्रधानन्यायाधीशले पनि भाग खोजेको भन्ने विभिन्न आरोपहरु लागेको बेला प्रन्या जबराले उक्त कुरा बताएका हुन् । संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनको मान्यताप्रति आफू सचेत रहेको भन्दै अनावश्यक टीका–टिप्पणी गर्न नहुने बताएका हुन् ।

‘न्यायपालिका प्रमुखको हैसियतले संविधानले आत्मसाथ गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिवद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रति दृढता व्यक्त गर्दछु,’ प्रधानन्यायाधीश जबराद्वारा जारी सन्देशमा भनिएको छ, ‘त्यसमा कहीँ कतैबाट आँच आउन नदिन सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि प्रष्ट पार्न चाहन्छु।’

उनले चाडपर्वहरूमा अन्तर्निहित मान्यता र सन्देशअनुरूपको सोच, व्यवहार एवम् क्रियाशीलताबाट शान्त, समृद्ध तथा न्यायपूर्ण समाजको स्थापनामा समेत योगदान पुग्न सक्ने बताएका छन् । सन्देशमा थप भनिएको छ, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘अनावश्यक रूपमा हुने आशङ्का वा टीका–टिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्नसक्नेतर्फ संवेदनशील रहन हार्दिकतापूर्वक अनुरोध गर्दै चाडपर्वहरूले न्यायपालिकाको श्रीवृद्धिका लागि थप ऊर्जा, हौसला तथा प्रेरणा प्रदान गर्ने छन् भन्ने कामनासमेत गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV