२९ आश्विन २०७८, शुक्रबार

एजेन्सी । पाकिस्तानको सरकारी हवाई सेवा प्रदायक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले अफगानिस्तानको काबुलमा हुने आफ्ना उडान स्थगित गरेको छ । तालिबानले पाकिस्तान एयरलाई हवाई भाडा घटाउन धम्की दिएपछि उडान रोक्नुपरेको बताइएको छ ।

अफगानिस्तानको सत्तामा रहेका तालिबान अधिकारीहरुले भाडा दर घटाउन दबाब दिएपछि पीआईएले आफ्नो सेवा स्थगित गरेको जनाएको छ । अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान भर्ने पीआईए एक मात्रै एयरलाइन्स थियो । तर तालिबान अधिकारीको हस्तक्षेपले पीआइएले आफ्नो सेवा प्रभावित भएको शुक्रबार बताएको हो ।

पीआईए प्रवक्ता अब्दुल्लाह हफेज खानले काबुलका उड्यन प्राधिकरणका अव्यवसायिक अधिकारीहरुको व्यवहारले गर्दा आफ्नो उडान बारम्बार प्रभावित हुने गरेको बताएका छन् । उनले अवस्था सामान्य नहुन्जेल काबुल–इस्लामावाद उडान स्थगित गरेको बताए ।

यसअघि तालिबानले भाडदर समायोजन नगरे पीआईए र अफगानिस्तानको विमान सेवा काम एयरको उडान रोक्ने चेतावनी दिएको थियो । हुनत मौकाको फाइद उठाउँदै काबुलबा हुने अन्य अन्तर्राष्ट्रिय उडान बन्द भएपछि इस्लामावादबाट काबुलसम्मको हवाई टिकट पीआइएका एजेन्टहरुले २५ सय डलरसम्ममा बेचेका थिए । महंगो भाडा घटाउनकै लागि तालिबानले धम्की दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV