२८ आश्विन २०७८, बिहीबार
  • महेश पाण्डे

चितवन । यहाँकाे ईच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने जलबिरे लामो झरना पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । यसपालि दशैँ बिदामा घुम्न जान चाहनेका लागि याे एक उपयुक्त गन्तव्य हाे ।

नारायणगढ-मुग्लिन सडक खण्डको जलबिरेबाट ८४० मिटर माथि लागे पछि जलबिरे लामो झरना सहजै पुग्न सकिन्छ । दैनिक रुपमा १ हजार देखि ५ हजार सम्म पर्यटक सो झरनामा नुहाउन र घुम्न पुग्न थाले पछि अहिले ईच्छाकामना गाउँपालिका पनि त्यसलाई व्यवस्थित बनाउन लागि परेको बताउछिन् गाउँपालिका अध्यक्ष गिता गुरुङ ।

अध्यक्ष गुरुङले सो ठाउँलाई व्यवस्थित बनाउन ढलान बिच गरिएको बताउँदै अहिले पर्यटकको घुइँचो लागेसँगै पर्वद्धनात्मक कार्यक्रमहरुको आयोजना गरिएको बताइन् । उनले अहिले झरनालाई व्यवस्थित बनाउन गोलाघर निर्माण, झरनामा नुहाएपछि चाहिने चेन्जिङ्ग रुमलगायत निर्माण भइसकेको र सो क्षेत्रमा व्यवसाय गर्न चाहने प्राइभेट फर्मसँग मिलेर होम स्टे सहितको पार्क निर्माण गर्ने ईच्छा रहेको बताइन् ।

उता भरतपुरबाट सो झरना घुम्न आएका अनिल पाण्डे क्षेत्रीलाई पनि परिवारसहित आउन पाउदा खुसी मिलेको बताए ।

काठमाडाैँबाट सो झरना हेर्न आएका अर्का रेशम रोक्कालाई पनि झरना हेरेपछि निकै रमाइलो लागेको छ । उनले सामाजिक सञ्जालमा फोटो देखेपछि आफुलाई पनि झरना हेर्न आउन मन लागेर सो झरना हेर्न आएको सुनाए ।

समग्रमा चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने जलबिरे लामो झरनालाई व्यवस्थित ढंगले अगाडि बढाउन सके त्यसले सो क्षेत्रको मात्रै नभई समग्र चितवनको पर्यटनमा पनि राम्रो प्रभाव पार्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV