२८ आश्विन २०७८, बिहीबार

काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२१ को उपाधिको लागि कोलकाता नाइटराइडर्स र चेन्नई सुपर किंग्स भिड्ने भएको छ ।

गएराति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई हराउँदै फाइनलमा पुगेको हो । यसअघि चेन्नई दिल्लीलाई नै हराउँदै फाइनलमा पुगिसकेको छ । फाइनल खेल दुबईमा शुक्रबार साँझ ७:४५ मा सुरु हुनेछ ।

दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले एक बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ३६, श्रेयस अयरले ३० रन बनाए भने पृथ्वी शर मार्कस स्टोइनिसले समान १८,१८ रन बनाए । बलिङतर्फ कोलकत्ताका वरुण चक्रवर्तिले दुई विकेट लिए भने लकी फग्र्युसन र शिवम मावीले एक विकेट लिए ।

१३६ रनको लक्ष्यका साथ मैदान पसेको कोलकत्ताले एक बल बाँकी रहँदै सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो। कोलकत्ताका दिनेश कार्तिक, कप्तान इयोन मोर्गन, सुनिल नायर र शकिब अल हशन शून्य रनमा आउट भए।

ओपनिङमा आएका सुभमन गिलले ४६ रन बनाए भने वेंकटेस अयरले ५५ रनको अर्धसतकिय पारी खेले। दिल्लीका एनरिच नोर्किया, कागिसो रबाडा र रविचन्द्र अश्विनले समान २,२ विकेट लिए। अभेष खानको खातामा एक विकेट जोडियो ।

खेलको अन्तिममा कोलकत्तालाई १३ बलमा २५ रन चाहिएको थियो। त्यतिबेला उसले सातौं विकेट गुमायो। त्यसबीचको तीन ओभर पाँच बलमा कोलकत्ताले ६ विकेट गुमाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV