२७ आश्विन २०७८, बुधबार
  • बाल बिक्रम कार्की

रौतहट । रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकाले लाखौँ रकम खर्च गरेर करिब अढाइ वर्ष अगाडि सञ्चालनमा ल्याएको घुम्ती शौचालय अहिले प्रयोगविहिन भएर थन्किएका छन् । जिल्लाकै प्रमुख बजारको रुपमा रहेको चन्द्रनिगाहपुर चोकमा राखिएका ती घुम्ति शौचालय अहिले प्रयोगविहिन भएर थन्किएका हुन् ।

दुइमध्ये एक शौचालय चन्द्रनिगाहपुर चोकमा नै राखिएको छ तर त्यसमा ताल्चा लगाइएको छ । त्यसैगरी अर्को भने चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा प्रयोगविहीन अवस्थामा थन्किएको छ ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुरमा दैनिक हजारौँको संख्यामा सवारी साधन र यात्रुहरुको ओहोरदोहोर हुन्छ । मुख्य व्यापारिक केन्द्र भएकाले यहाँ नगरभित्रका नभएर जिल्लाका विभिन्न स्थानका मानिसहरु किनमेल गर्न र विभिन्न कार्यालयहरुमा सेवा लिनका लागि आउँछन् ।

पछिल्लो समयमा यहाँको जनघनत्व पनि बढ्दै गइरहेको छ । यहाँ आउने यात्रु तथा बटुवाहरु शौच गर्न होटल वा अन्यत्र क्षेत्रमा जानुपर्ने वाध्यता अन्त्य गर्न भनेर ल्याएका घुम्ती शौचालयहरु प्रयोगविहीन भएर थन्किँदा सर्वसाधरण भने जनप्रतिनिधिहरुसँग रुष्ट बनेका छन् । उनीहरुले संचालन गर्न नसक्ने किन लाखौँ रकम खर्चेर शौचालय ल्याएको भनेर प्रश्न गर्न थालेका छन् ।

दशैँको बेला चन्द्रनिगाहपुरमा मानिसहरुको चहलपहल ह्वातै बढेको छ । दशैँ मान्न देश तथा विदेशमा रहेका मानिसहरु आफ्नो गाउँ फर्किएका छन् । दशैँ आफ्ना घर जान भनेर हिँडेका यात्रुहरुको खाजा तथा खाना खाने एउटा प्रमुख गन्तव्यको रुपमा रहेको चन्द्रनिगाहपुरमा सार्वजनिक शौचालय नहुँदा उनीहरु होटल तथा मानिसको घरको भित्ताहरुमा गएर शौच गर्न वाध्य भएका छन् ।

‘पिसाब फेरौँ भनेर चोकको घुम्ति शौचालयमा गएको बन्द रहेछ,’ पूर्व जान हिडेका एक यात्री गुनासो गर्दै थिए, ‘त्यसैले एउटा नजिकैको होटलमा खाजा खाने बाहानामा गएर पिसाब फेरेँ । सबैलाई सुविधा हुने घुम्ती शौचालय किन बन्द गरेर राखेको होला ?’

‘स्मार्ट सिटी’काे इज्जत

नगरपालिकाभित्र सार्वजनिक शौचालयको अभावमा प्रभावकारी हुने विश्वास गरिएको सो घुम्ती शौचालय व्यवस्थित ढंगले संचालन गर्न नगरपालिकाले ध्यान दिनुपर्नेमा बेवास्ता गरेको स्थानीय जगरनाथ अघिकारी बताउँछन् । स्मार्ट सिटी भनेर प्रचार गरिएको चन्द्रपुर नगरपालिका सबैलाई सहज होस् भनेर ल्याइएको घुम्ती शौचालय सञ्चालन नहुँदा जथाभावी दिसा-पिसाब गर्नाले नगरमा प्रदूषण बढेको र नगरपालिकाकै इज्जत घटिरहेको उनको भनाइ छ ।

चाडपर्वको बेला भीडभाड बढिरहेकाले एउटा चन्द्रनिगाहपुर चोकमा र एउटा बजारमा घुम्ती शौचालय राख्न स्थानीय युवा जितेन्द्र शाह सुझाउँछन् । ‘सधैँभरि भीडभाड हुने चन्द्रनिगाहपुर मेन चोक र बजारमा ती घुम्ती शौचालयहरु राख्न पाए नागरिकले सुविधा पाउने थिए,’ उनले भने, ‘तर नगरपालिकाले एउटा मेनचोकमा ताल्चा लगाएर र अर्को फुटबल मैदानमा थन्काएर राखेको छ । यसलाई नगरपालिकाले तत्काल प्रयोगमा ल्याउनुपनर्छ ।’

चोक तथा बजार क्षेत्रमा राख्ने प्रतिबद्धता

यता चन्द्रपुर नगरपालिकाका नगरप्रमुख रामचन्द्र चौधरीले नागरिकाका सहजताका लागि ल्याइएको घुम्ती शौचालय प्रभावकारी ढंगले संचालन गर्ने बताएका छन् । उनले शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा थन्किएर बसेको घुम्ती शौचालयलाई चाँडै नै चोक तथा बजार क्षेत्रमा राख्ने प्रतिबद्धता जनाउँदै त्यसको लागि नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए ।

चन्द्रनिगाहपुर शौच गर्न नपाएर यात्रु तथा बटुवाहरु यताउता छटपटाउने गरेका छन् । जिल्लालाई नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा  भइसकेको अवस्थामा चन्द्रपुर नगरपालिकामा एउटा पनि सार्वजनिक शौचालय नहुनु दुःखद भएको र त्यसको विकल्पको रुपमा ल्याइएको घुम्ती शौचालय पनि संचालन गर्न नसक्नुले जनप्रतिनिधिहरुको कमजोरी उदांगिएको स्थानीयको भनाइ छ । उनीहरु हिजोआज प्रश्न गर्न थालेका छन्- ‘जाबो दुइवटा घुम्ती शौचालय पनि राम्रोसँग चलाउन नसक्ने जनप्रतिनिधिहरुले सिङ्गो नगरपालिका कसरी चलाइरहेका होलान् ?’

प्रतिक्रिया दिनुहोस्

LIVE TV