२७ आश्विन २०७८, बुधबार

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ४ स्थित बीपी चोकमा रहेको सिटिजन्स बैंकको शाखामा लुटपाट गर्ने समूहका ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । लुटपाटमा ८ जना संलग्न रहेको बताइए पनि मुख्य योजनाकारसहित ३ जना मात्र पक्राउ परेका थिए । तीनैजनालाई मोरङ प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा लुटपाटका मुख्य योजनाकार विराटनगर महानगरपालिका– ८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया सेखपुरा– ५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा– ४ का ३० वर्षीय विजय सहनी रहेका छन् । सुनील यादवको साथबाट प्रहरीले एक कटुवा पेस्तोल र एक राउन्ड गोली समेत बरामद गरेको छ । साथै लुटपाटमा प्रयोग गरिएको को २५ प ३८९९ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जीसीले बताए । उनका अनुसार सीसीटीभी फुटेजमा ७ जना लुटेरा बैंकभित्र र अन्य दुई बाहिरै उभिएको देखिएको छ । तर लुटिएको रकम भने फेला परेको छैन ।

बैंकका गार्डमाथि पेस्तोल हानेर रकम लुटिएको थियो । सो क्रममा एक गोली लुटेरा समूहकै विजय सहनीलाई लागेर उनी घाइते भएको र उनलाई लिएर भारततिर भाग्ने क्रममा धनपालथान गाउँपालिका– २, खयरबना चोकबाट ३ जना पक्राउ परेका हुन् । अरु भने भाग्न सफल भएका छन् ।

बैंकबाट करिब २२ लाख रुपैयाँ लुटिएको एसपी जीसीले जानकारी दिए । रकम लगेर फरार भएको अर्को समूहको खोजी भइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV