२७ आश्विन २०७८, बुधबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पलाञ्चोक भगवतीको दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिहीबार काभ्रेपलाञ्चोकको पाँचखाल- ९ साठीघरमा रहेको पलाञ्चोक भगवती मन्दिर पुगेर दर्शन र पूजापाठ गर्नुभएको हो ।

बिहान १० बजेर २७ मिनेटमा मन्दिर प्रवेश गरेर उहाँले १५ मिनेट विशेष पूजा अर्चना गर्नुभएको थियो । राष्ट्रपति भएपछि यस मन्दिरमा गरेको पूजाअर्चना यो तेस्रो पटक हो।

राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भिम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगर उपप्रमख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गर्नुभएका राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पु¥याइएको थियो ।

करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ । यो मन्दिरमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV