२७ आश्विन २०७८, बुधबार
  • महेश पाण्डे

चितवन । गाउँ घर होस् या शहर-बजार, सबैतिर पहिला-पहिला दशैँ लाग्नेबित्तिकै लिङ्गे पिङ हाल्ने चलन थियो । लिङ्गे पिङ कहीँकतै हालियो भने पनि अब त दशैँ पनि लाग्यो भनेर मानिसहरु खुसी हुने गर्थे । तर हालका दिनमा भने बिस्तारै लिङ्गे पिङ हाल्ने प्रचलन हराउँदै जान थालेको  छ ।

पहिला एउटै गाउँमा २–३ वटासम्म देखिने लिङ्गे पिङ अहिले भने घण्टौँ लागेर खोज्नुपर्ने अवस्थामा पुगेको छ । गाउँघरमा त्यति हालेकाे देखिँदैन । दशैँ लाग्नासाथ गाउँघरका मानिसहरु जम्मा भएर कोही बासँको जोहो गर्न जाने त कोही डोरीको जोहो गर्न जाने प्रचलन थियो । तर अहिले भने त्यो प्रचलन हराएको छ । मानिसहरुमा लिङ्गे पिङप्रतिको महत्व घट्दै जाँदा कतै यो  चलन नै लोप हुने हो कि भन्ने चिन्ता पनि बढेको छ ।

चितवन रत्ननगरका गोबिन्द पौडेललाई पनि हालका दिनमा लिङ्गे पिङ खोज्नु भनेको मकैको सिलो खोज्नु जस्तै गाह्रो भएको भन्ने लागेको छ ।

उता रत्ननगरकै गोबिन्द नेपाललाई पनि केहि महंगी र यसको महत्व युवाले नबुझ्दा पनि लिङ्गे पिङ हाल्ने रुचि घटेको हो भन्ने लागेको छ । उनले पहिला लिङ्गे पिङ हालेसँगै गाउँघर तिर रोदी बसेको स्मरण गर्दै लिङ्गे पिङको महत्व घटेकोमा दुःख व्यक्त गरे ।

नेपालले भने जस्तै युवा पुस्तामा लिङ्गे पिङ प्रतिको महत्व घट्दै जाने हो भने पक्कै पनि हाम्रा भावि सन्ततिले लिङ्गे पिङ एकादेशको कथामा थियो रे भनेर पढ्ने अवस्था आउन सक्छ । त्यसैले यसको संरक्षण र जगेर्नाका निमित्त हामी सबैजना लाग्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV