२७ आश्विन २०७८, बुधबार

काठमाडौँ । हाल रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पद जनता समाजवादी पार्टी (जसपा) ले पाउने भएको छ । सत्ता साझेदार गठबन्धनबीच उक्त पद जसपालाई दिने समझदारी यसअघि भइसकेको विशेष स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार मन्त्रालयहरुको भागबण्डा मिलाउने क्रममा नै उपसभामुख पदको पनि भागबण्डा मिलाइएको थियो ।

अब दशैँलगत्तै उपसभामुख चयन प्रक्रिया अघि बढाउने सरकारको तयारी रहेको बुझिएको छ । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान छ । हाल सभामुखमा नेकपा माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटा छन् । तर उपसभामुख पद भने २०७६ माघदेखि नै खाली रहेको छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पदमा कोही पनि चयन भएको छैन ।

स्रोतका अनुसार दलहरुबीच भएको सहमति नभाँडिएमा अब उपसभामुख पदका लागि जसपाबाटै व्यक्ति चयन हुनेछ । यसका लागि भित्रभित्रै तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV