२६ आश्विन २०७८, मंगलवार

काठमाडौँ । नेपालगञ्जबाट काठमाडौंसम्म पैदल यात्रा टोलीकी नेतृ रुबी खानलाई सर्वोच्च अदालतले बिहीबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

रुबीलाई प्रहरीले काठमाडौँको माइतीघर मण्डलबाट शुक्रबार पक्राउ गरेको थियो । त्यसपछि रुबीको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले उनको तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन् ।

तर रुबीलाई प्रहरीले भने काठमाडौँबाट नेपालगन्ज पठाइसकेको बताइएको छ । यता सर्वोच्च अदालतले उनको पक्षमा दायर रिटको सुनुवाइ गर्दै बिहीबार बिहान ११ बजे अदालतमा उपस्थित गराउन आदेश दिएको हो । मंगलबार (आज)को सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले उक्त आदेश दिएका हुन् ।

रुबीलाई महानगरीय प्रहरी वृत्त लौनचौरले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिहंदरबारलाई बुझाएको थियो । त्यसपछि सिंहदरबार वृत्तले उनलाई नेपालगन्ज पठाइदिएको बुझिन आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV