२६ आश्विन २०७८, मंगलवार
  • विजय साह

धनुषा । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशका जनता नेपाली काँग्रेसको एकलौटी सरकारको पक्षमा रहेको जिकिर गर्नु भएको छ । जनताले अहिलेको जस्तो बैशाखीमा टेकेको सरकार नभइ नेपाली काँग्रेसको बहुमतको एकलौटी सरकार खोजिरहेको उहाँको दावी थियो ।

उपसभापति निधिले मंगलबार धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को सखुवा महेन्द्रनगरमा आयोजित विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकमना आदानप्रदान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो दावी गर्नु भएको हो ।

उहाँले कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो,‘देशलाई काँग्रेस चाहिएको छ, काँग्रेसको सरकार चाहिएको छ , गठबन्धनको सरकार होइन् । जबसम्म एकलौटी सरकार बन्दैन तबसम्म देश अपेक्षाअनुसार गति लिन नसक्ने भन्दै यदि देशलाई काँग्रेस चाहिन्छ, जस्का लागि मधेसको भूमिका महत्वपूर्ण हुने छ । ’

उहाँले गत निर्वाचनमा नेपाली काँग्रेसबाहेका पार्टीलाई जिताउँदा त्यसको दुष्परिणाम देश र नेपाली जनताले भोगिरहेका बताउँदै राज्य र सरकारका अंगहरू न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका अस्तव्यस्त र क्षतिग्रस्त भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

पछिल्लो निर्वाचनबाट देशमा अर्कै पार्टीको सरकार बन्दा जनताको दैनिक जीवन दुष्कर बनेको स्पष्ट पार्दै महँगी बढेको र समग्रमा देशकै आर्थिक स्थिति बिग्रिएको नेता निधिको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अहिलेका युवा पुस्ता निराशामा छन् । राज्यका अंग, राजनीति र रोजगारका क्षेत्रमा अवसर पाउन सकेका छैनन् ।’ उपसभापति निधिले ती जम्मै समस्या समाधानको आरम्भ आगामी चुनावमा रुख छापको विजय भए मात्रै सम्भव हुने दावी गर्नुभयो ।

उपसभापति निधिले पार्टीको आसन्न महाधिवेशनमा आफूलाई सभापति उम्मेदवारका रूपमा प्रस्तुत गरेको भन्दै महाधिवेशनमा समर्थन र सहयोग गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उपसभापति निधिले कार्यकर्ताहरूका बीच मतभेद भए पनि मनभेदको स्थिति नल्याउन आग्रह गर्दै वडादेखि प्रदेश तहको सबै अधिवेशन सहमतिमा गरेर अगाडि बढ्न भेलामा उपस्थित नेता कार्यकर्तालाई आग्रह समेत गनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV