२६ आश्विन २०७८, मंगलवार
  • युवराज आचार्य

झापा । विजय दशमीको अवसर पारेर झापाको मेचीनगर नगरपालिका वडा नम्बर ११ ले वडाका प्रत्येक परिवारलाई कपडाको झोला वितरण गरेको छ ।

वडाका १४ सय घरपरिवारलाई टोल विकास संस्था मार्फत “एक घर, एक झोला” कार्यक्रम अन्तर्गत एक एक वटा कपडाको झोला वितरण गरेको मेचीनगर- ११ वडा कार्यालयले जनाएको छ ।

प्लास्टिकको झोलाको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न पनि वडाले एक घर, एक झोला कार्यक्रम अन्तर्गत कपडाको झोला वितरण गरेको मेचीनगर ११ का वडाअध्यक्ष सन्तोष कुमार मेचेले बताए ।

“वडामा २५ वटा टोल विकास संस्था छन्, सोहि टोल विकास संस्था मार्फत आज झोला वितरण गरियो ।” वडाअध्यक्ष मेचेले भने “वडाले वितरण गरेको झोला कपडाको भएका कारण प्लास्टिकको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”

साथै वडा कार्यालयले जंगली हात्तीबाट प्रभावित क्षेत्रका परिवारलाई टर्च लाइट पनि वितरण गरेको छ । वडाको हात्तीबाट प्रभावित क्षेत्रका परिवारलाई टर्च लाइट वितरण गरिएको वडाअध्यक्ष मेचेले जानकारी दिए ।

टोल विकास संस्थाको माग अनुरुप ३० थान टर्च लाइट वितरण गरिएको उनले बताए । वडाले विपद् व्यवस्थापन शिर्षकमा छुट्याएको बजेट मार्फत हात्ती प्रभावित क्षेत्रका स्थानीयलाई टर्च लाइट वितरण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV