२६ आश्विन २०७८, मंगलवार

काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्था आफू, आफ्नो समुह र त्यसभित्रको गूटगत स्वार्थमा मात्र रुमल्लिएको बताएका छन् । विजया दशमी २०७८ को अवसरमा आम नेपालीजनमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीति सनतनी आदर्शअनरुप चल्न नसकेको बताएका हुन् ।

‘हाम्रो समाज सनातनिक आदर्श र पुख्र्यौली पौरखबाट पृथक छैन,’ पूर्वराजा शाहद्वारा जारी सन्देशमा भनिएको छ, ‘तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनूरुप हून सकेनन् । लोककल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पुर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने हो । तर राजनीतिक व्यवस्था आफू, आफ्नो समुह र त्यसभित्रको गुट–उपगुटमा अल्झिएको छ ।’

पूर्वराजा शाहले पछिल्लो समय कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य, सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ? भनेर गम्भीर प्रश्न उठाएका छन् ।

‘कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने गर्दछ । त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनूभुत गर्न सक्नुपर्दछ,’ सन्देशमा भनिएको छ, ‘दूर्भाग्यवश शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सीमित व्यक्तिलाई फाइदा पु¥याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ । त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चूनौती थपिएकोले हाम्रो मन पोलेको छ ।’

उनले हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार रहेको पनि बताएका छन् । साथै राजसंस्थाले वैचारिक आस्थाका आधारमा विभेद नगर्ने बताउँदै शाहवंशीय राज पदतिको इतिहासले पनि यसलाई स्पष्ट गरेको बताए । ‘राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कूनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि,’ राजसंस्थाबारे उनले भनेका छन्, ‘देशभक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दबित भए पनि नामेट हून सक्तैन, योग्य समयमा समूचित तरिकाबाट त्यो प्रस्फुटित हूने गर्दछ ।’

केही समययता जिम्मेवार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकूल भई व्यक्त विचारहरुलाई आफूहरुले राष्ट्रिय अनुराग र निष्ठा मात्र प्रकट गरेको नभई, आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार समेत गराएको रुपमा बुझेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV