२६ आश्विन २०७८, मंगलवार

काठमाडौँ । दशैं अर्थात् नवरात्रको सातौँ दिन फूलपाती भित्र्याइन्छ । सातौँ दिनलाई कालरात्रि पनि भनिन्छ । घटस्थापनादेखि नै दशैँ सुरू भएको मानिए तापनि फूलपातीको दिनदेखि चाहिँ दशैँको खास चटारो र रौनक सुरू हुन्छ ।

यसै दिन गोरखा दरबारको ‘दशैंघर’बाट फूलपातीसहितको डोली बोकेर ल्याई काठमाडौँको बसन्तपुरस्थित दशैँघरमा भित्र्याइन्छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

बढाइँका साथ सो फूलपाती बसन्तपुरस्थित हनुमानढोकाको दशैँघरमा भित्र्याउने चलन उहिलेकै हो । यसरी गोरखा दरबारदेखि बोकेर ल्याइएको फूलपाती पञ्चाङ्ग निर्णायक समितिले निकालिदिएको साइतमा भित्र्याउने परम्परा रहिआएको छ । साे क्रममा सेनाले विशेष सलामी दिने चलन पनि छ ।

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकाे थियाे । तर गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

इतिहासविद् तथा संस्कृतिविद्हरूका अनुसार तत्कालीन गोरखाली राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तारका क्रममा काठमाडौंमाथि विजय प्राप्त गरेको प्रसंगसँग गोरखाको फूलपाती काठमाडौँ पठाउने चलन जोडिएको छ । पृथ्वीनारायणले काठमाडौँ उपत्यकामाथि विजय हासिल गरी एकीकृत राज्यको राजधानी बसन्तपुर क्षेत्रमा बनाएसँगै गोरखाको फूलपाती वसन्तपुरस्थित हनुमानढोकामा भित्र्याउने चलन चलेको बताइन्छ ।

के हो फूलपाती ?

दशैं अर्थात् नवरात्रको पहिलो दिनजस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्रीस्वरूप दशैँघर तथा मन्दिर र घरघरमा समेत फूलपाती भित्र्याउने गरिन्छ कार्य हुन्छ ।

नवरात्रिको सप्तमी तिथिमा काठमाडौँको टुँडिखेलमा बढाइँ भएपछि फूलपाती पूजा गरिँदै आएको पाइन्छ । वास्तवमा फूलपाती के हो त ? फूलपातीलाई नवदुर्गाको प्रतीकका रूपमा लिइन्छ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका वनस्पतीका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा फूलपाती भित्र्याइन्छ ।

यिनै नौ प्रकारका वनस्पतिका पातसहित फूलको डोलालाई नै फूलपाती भन्ने गरिन्छ । यसलाई नवपत्रिका पनि भन्ने गरिन्छ । दशैँघरमा यी नौवटा वनस्पतिलाई नवरात्रको सप्तमीका दिन भित्र्याई  नवदुर्गालाई क्रमशः स्नान गराई प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ । ती नौ प्रकारका वनस्पतिका पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी गरी नवदुर्गा देवीलाई एकएक गरी आह्वान गरेर सोह्र सामग्रीले पुजिन्छ ।

यस तथ्यलाई इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेको रूपमा समेत सम्झने गरिन्छ । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV