२५ आश्विन २०७८, सोमबार
  • प्रेम सुनार 

बुटवल । रुपन्देही मोतीपुरमा वास्तविक सुकुम्वासीको समस्या तत्काल हल गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले निर्देशन दिएका छन् ।

सोमबार सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले वास्तविक सुकुम्वासीको समस्या समाधान गर्न र सुझाव कार्यदल निर्माण गर्नका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन्।

मुख्यमन्त्रीको निर्देशनसँगै समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मोतीपुरको समस्या हल गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीको प्रतिनिधि, नापी कार्यालय रुपन्देही प्रतिनिधि, औद्योगिक ग्राम रुपन्देहीको प्रतिनिधि, भूमिहीनको प्रतिनिधि लगायतको टोली सहभागी रहेका छन् ।

समितिको बैठकले मृतकका परिवारलाई राहतस्वरुप जनही १ लाख प्रदान गर्ने निर्णय पनि गरेको छ । साथै, आइतबार घटेको अप्रिय घटनामा ज्यान गुमाउनेहरुप्रति प्रदेश सरकारले समवेदना व्यक्त र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख राहत प्रदान गर्नका लागि मुख्यमन्त्री कुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी दिएका छन् भने घाइतेहरूको उपचार खर्च राज्यले ब्यहोर्ने भएको छ ।

तीन जनाको सखाखत
मोतीपुर घटनामा मृत्यु भएका चार जनामध्ये तीन जनाको सनाखत भएको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुपन्देहीको शुद्धोधन नगरपालिका–५ का वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाट घर भई हाल तिलोत्तमा निवासी युजन कुमालको मृत्यु भएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–१० का ४८ बर्षीय रमेश परियारको हिजो नै सनाखत भएको छ । तर, अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV