२५ आश्विन २०७८, सोमबार
  • बाल बिक्रम कार्की

रौतहट । शुक्रबार राति साढे १२ बजे जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ टेकान टोलमा रहेको एक घरमा भाडामा बस्दै आएकी पुनम उपाध्यायको फ्याल्टमा अपारधिक कृयाकलाप भएको खबर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई आउँछ ।

खबर पाए लगतै सो कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेको कमाण्डमा प्रहरीको टोली त्यहाँ पुग्छ । प्रहरीले सो घरमा पुगेपछि घरको कम्पाउण्डमा रहेको ना १९ प ६७३३ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलको दुबै लुकिङ्ग ग्लासमा गम्छाले बेरेर एक छेउमा पोका बनाएर राखेको देख्छ ।

प्रहरीले सो पोका खोलेर हेर्दा पोकाभित्रबाट ४ पत्ता प्रतिबन्धित लागू औषध नाइट्रजिपाम ट्याब्लेट भेट्छ । एक पत्तामा ३० वटाको दरले जम्मा १ सय २० वटा ट्याब्लेट भेटे लगतै प्रहरीले सो मोटरसाइकलको इन्जन माथि कालो पोलिथिनमा थप ६ पत्ता नाइट्राजेपाम ट्याब्लेट, डाइजीपाम इन्जेक्सन ७ वटा, बुप्रेनराफन इन्जेक्सन १० वटा , प्रोमेथाजिन हाइड्रो क्लोराइड इन्जेक्सन ६ वटा भेटिन्छ ।

यसरी प्रहरीले मोटरसाइकलमा लुकाएर राखेको लागू औषध फेला परेपछि पुनम उपाध्यायको फ्याल्टको कोठाहरु मध्ये भ–याङ्ग छेउमा रहेको पूर्व उत्तर कुनाको कोठा भित्र ३ जना खाजानास्ता गरिरहेको अवस्थामा फेला पार्छ ।

कोठाभित्र खाजा नास्ता खानेहरुमा रौतहट जिल्ला गुजरा नगर पालिका वडा नम्बर ३ सिमरा टोल बस्ने २३ वर्षीय विजय शंकर तिवारी, रौतहट जिल्ला कटहरिया नगरपालिका वडा नम्बर १ भसेडवा टोल बस्ने ४२ वर्षीय रामलाल कुशवाहा र बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर १ कलैया चोक बस्ने २० वर्षीय नैना कुमारी महतो हुन्छन् । उनीहरुसँग प्रहरीले सोधपुछ गर्दा तिवारीले प्रहरीलाई सो मोटरसाईकल आफ्नो भएको र आफु साथी कुशवाहलाई साथमा लिएर काम विशेषले चन्द्रनिगाहपुर आएको तर, फेला परेको लागू औषध हामीहरुको नभएको जिकिर गर्छन् । उनले कोही कसैले आफुहलाई फसाउने नियत सो लागू औषध राखेको हुनसक्ने भन्दै आफुहरु निदोर्ष रहेको दावी गर्छन् ।

प्रहरीले तिवारी र कुशवाहसँगै रहेकी महत्तोसँग सोधखोज गरेपछि उनले षड्यन्त्रको रहस्योघाटन गरिन् । उनले प्रहरीलाई विजयका दाजु उमाशंकर तिवारीले ७० हजार दिएर लागू औषध खरीद गर्न लगाई मोटरसाइकलमा राख्न लगाएका हुन प्रहरी समक्ष वयान दिन्छिन् ।

प्रहरीले विजय शंकर तिवारी र रामलाल कुशवाहाको जाहेरीको आधारमा मुख्य योजनाकार उमाशंकर तिवारी, पुनम उपाध्याय र पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ४ बहुअरी टोल बस्ने २६ वर्षिया सुनिता यादव र नैना कुमारी महतोलाई पक्राउ पनि पक्राउ गर्छ ।

झट्ट सुन्दा कुनै सस्पेन्स थ्रिलर फिल्मको कहानी झैँ लाग्ने यो घटना वास्तविक हो । आफ्नो व्यक्तिगत रिसिवि साँध्न रचिएको यो षड्यन्त्रको पर्दाफास समयमै गर्न प्रहरीले सफलता पाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लामिछानेको भनाइ छ ।

जिल्लामा यसअघि पनि यस्तै प्रकृतिको घटना खटिसकेकाले प्रहरीले निकै संवेदनशिल भएर तत्कालै अनुसन्धान गरेकाले निर्दोष फस्न नपाएको उनले बताए । ‘हामीले यो घटनालाई विभिन्न फरक कोणहरुबाट पनि अनुसन्धान र सोधपुछ ग¥यौ’ उनले भने ‘ उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गर्दैछौँ । घटना बारे थप रहस्यहरु खुल्दै जानेछन् ।’ प्रहरीले पक्राउ परेका चारैजनालाई आपराधिक षडयन्त्र तथा लागू औषध शिषर्कमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

उनका अनुसार कुनै समय व्यवसायिक साझेदार रहेका मुख्य योजनाकारको रुपमा पक्राउ परेका उमाशंकर तिवारी र रामलाल कुशवाह विवाद आएपछि छुट्टिएका थिए । तिवारीलाई आफ्नै भाइ विजयले साथ छाडेर कुशवाहलाई साथ दिएको पनि मन परेको थिएन् । त्यसैले उनले दुबैजनालाई एकैपटक फसाउन पुनमको सहयोगमा महत्तो र यादवलाई प्रयोग गरेर सो षड्यन्त्र रचेका थिए ।

हुन पाएन् दोस्रो मोजिबुल्लाह काण्ड
साउन ३२ गतेको जिल्ला सदरमुकाम गौरबाट स्थानिय पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागू औषध सहित पक्राउ गरेको थियो । तर पछि सो घटनाको सिसिटिभी बाहिरिएपछि प्रहरीकै मिलोमतोमा मोजिबुल्लाहलाई फसाइएको रहस्य खुलेको थियो ।

गौरमा रहेको होटल ग्रिन सिग्नल होटल अगाडि मोटरसाइकल राखेर होटलमा खाजा खान गएका उनको मोटरसाइकलमा रौतहट प्रहरीकै प्रत्यक्ष निगारानीमै स्थानिय दुइ युवाले लागू औषध राखेर फसाउन खोजेका थिए । सिसिटिभी फुटेज बाहिरिएपछि प्रहरीले गल्ती स्विकार गर्दै उनलाई रिहा गरेको थियो ।

प्रहरीले सो घटनामा संलग्न देखिएका प्रहरी सहायक निरिक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साह कानु , माधवनारायण नगरपालिका वडा नम्बर १ बस्ने धिरज यादव र जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नम्बर ।१ बहुअर्वाका जितेश कुमार यादवलाई निलम्बन गरी उनीहरुको संलग्नता बारे थप अनुसन्धान गरिरहेको छ ।

घटना मुख्य योजनाकार अर्का पत्रकार संजय सहनी भने हालसम्म फरार रहेका छन् । उनको र तत्कालिन रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाह बीचको काम भइसकेपछि काम भयो है भन्दै एक आपसमा बधाइ साटासाट गरिएका अडियो रेकर्ड बाहिरिए पछि शाह पनि अनुससन्धानको घेरामा तानिएका छन् । उनलाई प्रहरी प्रधान कार्यालयले जिल्लाको प्रमुखको जिम्मेवारीबाट फिर्ता बोलाएर उनको स्थानमा प्रहरी उपरीक्षक बिनोद घिमिरेलाई पठाएको थियो ।

यो घटनाले देशभरिनै ठुलो तरंग ल्याएको थियो । नेपाल पत्रकार महासंघ र प्रहरी प्रधान कार्यालय छानविन समितिनै बनाएर अनुसन्धान गरेको थियो । यद्यपी सो छानविन समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भइसकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेले आफुलाई रिस उठेको व्यक्तिलाई फसाउन गरिन थालिएका यस्ता कार्यहरु विरुद्ध प्रहरी सचेत भएर लागिरहेको जनाउँदै निर्दोष नफसुन् भनेर प्रहरी निकै सचेत भएर कार्य गरिरहेको बताए ।

उनले सर्वसाधरणहरुलाई यस्ता कृयाकलापबाट टाढै रहन सुझाउँदै प्रहरीले यस्ता घटनामा निकै संवेदनशिल भएर अनुसन्धान गरेर मात्र निष्कर्षमा पुग्ने जनाउँदै अरु विरुद्ध षड्यन्त्र रच्दा आफै फस्न सक्नेतर्फ सचेत गराए । ‘अरुलाई फसाउँछु भन्दा आफै फसिएला होसियार रहौँ’ उनले चेतावनी दिदैँ भने , ‘हामी निर्दोष नफसुन् र दोषि नउम्किउन् भन्नेतर्फ सचेत भएर लागि परेका छौँ। यसमा आम नागरिकको पनि साथ र सहयोग चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV