२५ आश्विन २०७८, सोमबार
  • युवराज आचार्य

झापा । सहारा नेपाल सहकारी संस्थाले विजयादशमीको अवसर पारेर आफ्ना सदस्यलाई एक करोड भन्दा बढी रकम वितरण गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नम्वर २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल सहकारी संस्थाले विगतका वर्षदेखि नै सहकारीमा आवद्ध आफ्ना शेयर सदस्यलाई राहत रकम प्रदान गर्दै आएको छ । यो वर्ष पनि सहकारीले विजयादशमीको अवसर पारेर एकल महिला, ज्येष्ठ सदस्य र एकल पुरुषलाई भत्ता तथा मृतकका परिवारलाई राहत वितरण गरेको हो ।

सहकारीले संस्थामा आवद्ध सदस्यको जीवनयापन सहज बनाउनका लागि विजया दशमीको अबसर पारेर ज्येष्ठ, एकल महिला, एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता र मृतकका परिवारलाई राहत स्वरुप ९३५ सदस्यलाई एक करोड सात लाख ४९ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।

सहकारीले ५ सय ९२ जना एकल महिलालाई ४७ लाख ३६ हजार रुपैयाँ, २४२ जना ज्येष्ठ सदस्यलाई १६ लाख ७६ हजार रुपैयाँ र १२ जना एकल पुरुषलाई ७२ हजार रुपैयाँ सामाजिक सुरक्षा भक्ता वापतको रकम बितरण गरेको हो ।

सहकारीले ७५ वर्ष पुगेका वा मृत्यु भएको खण्डमा परिवारलाई जीवनयापनमा सहायता पु¥याउनका लागि परिवार राहत कार्यक्रम अन्तर्गत जनही रु. पाँच लाख प्रदान गर्दै आएको छ । यो राहत बापत १७ जनालाई २६ लाख रुपैयाँ वितरण गरिएको कार्यालयले जनाएको छ ।

सहकारीमा आवद्ध भएर दिवंगत भएका शेयर सदस्य तथा कर्मचारीका ६३ परिवारलाई संस्थाले स्मृति कार्यक्रम अन्तर्गत १५ लाख ७५ हजार रुपैयाँ बितरण गरेको छ । शेयर सदस्य रहेका पूर्ण अशक्त नौ जनालाई हौसला कार्यक्रममार्फत १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ प्रदान गरिएको छ ।

कोभिड १९बाट ज्यान गुमाएका परिवारको तर्फबाट पनि १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । संस्थाको विराटनगर सेवा केन्द्रका अनुगमन अधिकृत यादव बस्नेतको स्मृतिमा उनको परिवारले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो ।

अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट प्राणघातक रोगका बिरामीलाई सहयोग गरिने संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडाले बताए । सहकारीले बिर्तामोड नगरपालिका–८का एकल महिला रेणुका नेपाललाई सामाजिक रुपान्तरणमा योगदान पु¥याएबापत विशेष सम्मान गरेको छ । श्रीमानको मृत्युपछि चुरा, पोते फाल्नु नपर्ने र रातो सारी लगाउन हुने अभियानको अगुवाइ गर्दै आएकी नेपाललाई सम्मान गरिएको थियो ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु समेत गर्दै आएको छ । जसमध्ये जीवन बरदान कार्यक्रम अन्तर्गत सदस्य पुरुषका बुबाआमा तथा महिला सदस्यका सासू ससुराको मृत्यु भएमा ६० हजार र सदस्यको मृत्यु भएमा एक लाखदेखि पाँच लाखसम्म राहत प्रदान गर्दै आएको छ ।

बचत तथा ऋण सहकारी संघ १ नम्बर प्रदेश समितिका अध्यक्ष तथा नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उनले आदर्श समाज निर्माण गर्न सहकारी अभियान अग्रसर रहेको बताए । वित्तीय कारोबारलाई सरलीकृत गर्नमा मात्र होइन सामुदायिक कार्य गरेर सहकारीले उल्लेखनीय योगदान गरिरहेको अधिकारीको भनाइ थियो ।

संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपनिर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए । सामाजिक सुरक्षा उपसमितिका संयोजक डिल्लीराम सिटौलाले कार्यक्रमको औचित्य प्रष्ट पार्दै आमन्त्रितहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV