२४ आश्विन २०७८, आईतवार

काठमाडाैं । बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई तत्काल पक्राउ गरि कारवाही गर्ने गृह मन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

आइतबार सिंहदरबारमा महिला अधिकारकर्मीहरूले बुझाएको ज्ञापन पत्र बुझ्दै उनलाई नकुन्नी र निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्ने बताएका हुन् ।

ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले भने, ‘नेपाली नागरिकको जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली नागरिकले अनाहकमा जीवन गुमाउन नपरोस् भन्नेमा हामी गम्भीर छौँ । नागरिकको जीवन रक्षाका लागि, महिला दिदी बहिनीहरूको रक्षाका लागि राज्य र सरकार गम्भीर छ । यी भएका घटनाहरूको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अब कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुनअनुसार नै कारवाही हुन्छ ।’

मन्त्री खाँणसँगको भेटमा महिला अधिकारकर्मीहरूले पीडितका लागिा न्याय माग्दै दोषीमाथि कडाभन्दा कारबाही हुनुपर्ने माग राखेका थिए ।

न्याय खोज्न नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाण्डौ आई शान्तिपूर्ण प्रर्दशन गरिरहेको अवस्थामा प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएकाहरुलाई तत्काल रिहा गर्न पनि माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV