२४ आश्विन २०७८, आईतवार

काठमाडौं । नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः समाजका दानदास श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ ।

त्यसैगरी, राजोपाध्याय समाजका बिराजकाजी राजोपाध्याय महासचिव पदमा चुनिएका छन् भने रजक समाजका किरण मघैयालाई सचिव पदमा बसेका छन् ।

कोषाध्यक्षको जिम्मेवारी पुतुवार नगरकोटी राजवाहक विकास समाजका सागर पुतुवारले पाएका छन् । चार जना सदस्यमा नेपाल तण्डुकार समाजका सुरेश तण्डुकार, बलामी समाजका बेखराम वलामी, कपाली समाजका श्यामकृष्ण दर्शनधारी र नेपाल माली समाजका अमर मालीलाई राखिएको छ ।

१८ वटा जातिय संगठनका प्रतिनिधि साथै संचारकर्मी, नेवाः अभियानकर्मीसमेतको भेलाले महासंघ तदर्थ कार्य समितिको चयन गरेको हो । तदर्थ कार्य समिति चयन पछि नेवाः देय् दबूका पूर्व सचिव साथै अध्येता जितेन्द्र विलास बज्राचार्यले समितिका पदाधिकारी र सदस्यलाई खादा ओढाए ।

महासंघ तदर्थ समितिका अध्यक्षमा चयन भइसकेपछि बोल्दै नेवाःले नेवाः समाजको शक्तिको रुपमा रहेको जातिय समाजको शक्ति एकै ठाउँमा संचय गर्दै थप उर्जाशील भएर समग्र समाजको उत्थानको लागि अघि बढ्ने बताए ।

‘हरेक गतिविधि, आन्दोलनमा यहि जातिय संगठनहरु नेवाः समुदायको शक्ति बनेर अग्रपंक्तिमा उभिएको छ, तर जातिय संगठनहरुलाई जहिल्यै कार्यकर्ताकै दर्जामा मात्र राखियो । अब हामी सबै संगठित हुँदै थप उर्जाका साथ आफ्नो हक अधिकारको लागि अघि बढ्नेछौं’ नेवाःले भने ।

महासंघमा हाल १८ वटा जातिय संगठनको संलग्नता रहेकोमा आवश्यकता अनुसार अन्य जातीय समाज पनि थप्ने र आवश्यक प्रकृयामा अघि बढ्ने बताए । महासंघले आउँदो कार्तिक ६ गते तिहार र नेपाल सम्वतको नयाँ वर्ष ११४२ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV