२४ आश्विन २०७८, आईतवार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा) । वीरगन्ज छपकैयास्थित सूर्या अस्पतालको चरम लापरवाहीको कारण एक युवाले आफ्नो खुट्टा गुमाएका छन् । घर निर्माणको काम गर्ने क्रममा खुट्टामा छत खसेर गम्भीर घाइते भएका पर्साको पर्सागढी नगरपालिका– ५ पचरुखी बहुअर्वाका अन्दाजी ३६ वर्षीय धर्मदेव रायको सूर्या अस्पतालको लापरवाहीको कारण दाहिने खुट्टा नै गुमाउनु परेको हो । उपचारको क्रममा शल्यक्रिया गर्दा बिरामी र आफन्तको मन्जुरी लिनुपर्ने अवस्थामा कसैलाई पनि जानकारी समेत नगराई रायको दाहिने खुट्टा काटिदिएको पीडित रायको आरोप छ ।

गत साउन ११ गते वीरगन्ज महानगरपालिका रामगढवामा ठग पटेल र ओम पटेलको घर निर्माणको काम गर्दै गर्दा घरको टप खसेर रायको खुट्टामा गम्भीर चोट लागेको थियो । चोट लागेर गम्भीर घाइते भएका रायको नारायणी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अवस्थामा त्यहाँ कार्यरत डा.सरोज सिंहले राम्रो उपचार हुने भनेर आफ्नै निजी अस्पताल सूर्या अस्पतालमा लगेका थिए ।

राम्रो उपचार हुन्छ भनेपछि नारायणी अस्पतालमा २ वटा इन्जेक्सन मात्रै लगाएर  सूर्या अस्पतालमा पुर्याइएको पीडित रायकाे भनाइ छ । भर्ना भएको केही घण्टामै सूर्या हस्पिटलले परिवारलाई कुनै जानकारी नदिई आफ्नो खुट्टा काटिदिएको रायले बताए । ‘घुँडामुनि गम्भिर चोट लागेको थियो, दाहिने खुट्टा चलिरहेको थियो, राम्रो उपचार पाउँदा ठीक हुन्थ्यो तर काम गराउने साहुको प्रलोभनमा परेर सूर्या अस्पतालले मेराे खुट्टा नै काटिदियाे,’ उनले भने ।

आफ्ना दुबै खुट्टा चल्न सक्ने अवस्थामा रहे तापनि घर निर्माण गराउने साहु र अस्पतालको मिलोमतोमा एउटा खुट्टा काटिएको उनले आरोप लगाए । उपचारमा समस्या हुन सक्ने एवं बढी खर्च लाग्न सक्ने कारण नै साहुले चिकित्सकलाई प्रलोभनमा पारेर खुट्टा काट्न लगाएको उनको आरोप छ । उनको खुट्टा काटिएको बारे आफ्नो परिवारलाई जानकारीसमेत नरहेको रायले बताए । खुट्टा काट्दा अस्पतालले तयार गरेको कागाजातमा कसले हस्ताक्षर गर्यो, कसैलाई जानकारी समेत छैन ।

उपचारको क्रममा आफूलाई काममा लगाउने साहुले ८० हजार रुपैयाँ खर्च गरेकाे र रायकाे परिवारले १ लाख १७ हजार रुपैयाँ लगाएर उपचार गराएको उनको भनाई छ । अहिले आएर १ लाख ६० हजार रुपैयाँ दिएर मिलापत्र गर्न अस्पताल पक्षले दबाव दिइरहेको उनको भनाई छ । निकै सुविधा सम्पन्न र आधुनिक प्रविधिद्वारा उपचार हुने भनेर अस्पतालको प्रचार गरिए पनि अस्पतालले दिने सेवा भने सन्तोषजनक छैन । कसरी बढीभन्दा बढी पैसा बिरामीहरुसँग लुट्न सकिन्छ भन्नेतर्फ मात्रै अस्पताल केन्द्रित भएको देखिन्छ ।

आफू दैनिकी ज्यालादारी काम गरि परिवारको पालन पोषण गर्दै आएकोमा खुट्टा गुमेपछि अब परिवारलाई कसरी पाल्ने हो भन्ने चिन्ताले सताएको उनको भनाई छ । पीडित रायको परिवारमा श्रीमती, आमा, २ वटा छोरी र १ वटा छोरा रहेका छन् । यसबारे जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन जाँदा समेत आलटाल गर्दै जाहेरी दर्ता समेत नगरेको उनको भनाई छ ।

यसबारे अस्पतालका संचालक समेत रहेका डा. सरोज सिंहले बिरामीको ज्यान बचाउनका लागि खुट्टा काट्नु पर्ने बाध्यता आइपरेको बताए । खुट्टाभन्दा ज्यान ठूलो रहेकोले पहिले ज्यान बचाउनतर्फ हामी लाग्यौँ भन्दै खुट्टा नकाटेको भए ज्यान बचाउन सक्ने अवस्था थिएन, त्यसैले खुट्टा काटिएको बताए । छत खसेर खुट्टामा चोट लाग्दा उनको खुट्टा लत्रिएको अवस्थामा थियो, उपचारले सम्भव नभएपछि खुट्टाको केही भाग मात्रै काटेको उनको भनाई छ ।

पत्रकारलाई गाली गलौजसहित धम्की

यस विषयमा समाचार लेखेकै कारण सूर्या अस्पतालका संचालिका डा. मोनिका सिंहले एक सञ्चारकर्मीलाई अपशब्द प्रयोग गर्दै गाली गलौज गरेकी छिन् । अस्पतालकी सञ्चालक डा. मोनिका सिंहले टेलिफोन मार्फत पत्रकार आविद हुसेनलाई गालीगलौज गर्दै कुटपिट गर्ने धम्कीसमेत दिएकी हुन् ।

अस्पतालमा उपचार गराउने क्रममा परिवारको मन्जुरीविना विरामीको खुट्टा काटिदिएको समाचार प्रकाशन गरेपछ संचालिका सिंहले सञ्चारकर्मीलाई फोन गरेर गाली गलौज गरेकी हुन् । सञ्चारर्मी हुसेनले ‘अस्पतालको लापरवाहीले खुट्टा गुम्न पुगेको’ भन्ने शिर्षकमा अनलाइनमा समाचार लेखेका थिए । त्यही समाचारलाई लिएर अस्पतालकी सञ्चालिका सिंहले तथानाम गाली गरेको सञ्चारकर्मी आविद हुसेनले बताए ।

समाचारमा चित्त नबुझे कानूनी उपचारको बाटो हुँदाहुँदै गालीगलौज गर्नु आपत्तिजनक रहेको हुसेनको भनाई छ । यस विषयमा नेपाल पत्रकार महासंघ पर्सा शाखा र प्रदेश समितिलाई जानकारी समेत गराई सकिएको तर दुबै निकायबाट हालसम्म घटनाबारे औपचारिक धारणा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV