२३ आश्विन २०७८, शनिबार
  • युवराज आचार्य

झापा । मेची अस्पताल भद्रपुरमा सिटी स्क्यान सेवा सुरु भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले शनिबार मेची अस्पतालको सिटी स्क्यान सेवासँगै अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका हुन् ।

प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र एक करोड बजेटमा अक्सिजन प्लान्टका जडान गरिएको दुवै सेवा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. टंकप्रसाद बाहकोटीले जानकारी दिए ।

मेचीमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि दुर्घटनामा परि टाउको चोट लागेका वा अन्य टाउको समस्या भएका बिरामीलाई अन्यत्र स्थानान्तरण गर्नु पर्ने बाध्यताको अन्त्य भएको मेसु बाहकोटीले बताए । दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट सेवा सुचारु भएपछि कोभिड वा नन–कोभिड भएका बिरामीलाई चाहिने अक्सिजनको समस्या पनि टरेको उनको भनाई छ ।

अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष सोमनाथ पोर्तेल अध्यक्षता तथा सामाजिक विकास मन्त्री साम्सोहाङ्गको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरू बसन्त बानियाँ, ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिका उपमेयर चन्द्रामाया श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV