२३ आश्विन २०७८, शनिबार

नयाँ दिल्ली । डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाको रूपमा लिएको शनिबार बताउनुभएको छ ।

तीन दिने भ्रमणमा रहेका फ्रेडरिकसेनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा एक औपचारिक कार्यक्रम गरी स्वागत गर्नुभएको छ ।

“हामी भारतलाई घनिष्ठ साझेदार ठान्छौं । यो भ्रमण डेनमार्क–भारत द्विपक्षीय सम्बन्धका लागि कोशेढुंगाको रूपमा म देख्छु,” उहाँले भन्नुभयो ।भ्रमणका क्रममा फ्रेडरिकसेनले राष्ट्रपति रामनाथ कोविन्दलाई शनिबार नै भेट्नुभएको छ ।

त्यसपछि लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुभएको छ । उहाँले थिङ्क ट्यांक, विद्यार्थी र नागरिक समाजका सदस्यहरूसँग पनि अन्तरक्रिया गर्नुहुने कार्यक्रम छ ।

उहाँ कोभिड–१९ प्रतिबन्ध लगाइएपछि गत मार्चदेखि भारत भ्रमण गर्ने पहिलो राज्य प्रमुख भएका कारण भारतले मेटे फ्रेडरिकसेनको भ्रमणलाई निकै महत्वपूर्ण भनेको छ । यसै वर्षको सुरुतिर विदेशमामिला मन्त्री डा। एस जयशंकरले डेनमार्क भ्रमण गर्नुभएको थियो ।

भारत र डेनमार्कको व्यापार र लगानीको सम्बन्ध बलियो छ । भारतमा २०० भन्दा बढी डेनिस कम्पनीहरू उपस्थित छन् र डेनमार्कमा ६० भन्दा बढी भारतीय कम्पनीहरूको उपस्थिति छ ।

नवीकरणीय ऊर्जा, स्वच्छ प्रविधि, जल तथा फोहोर व्यवस्थापन, कृषि तथा पशुपालन, विज्ञान तथा प्रविधि, आइसिटी, स्मार्ट सिटी, ढुवानी लगायतका क्षेत्रमा बलियो सहकार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV