२३ आश्विन २०७८, शनिबार
  • सुरेश भट्ट

कञ्चनपुर । हिन्दू नेपालीहरुको महान चाड दशैँ–तिहार नजिकिएसँगै विभिन्न समयमा भरतीय शहरमा रोजगारी गर्न गएका नेपालीहरु अहिले कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किरहेका छन् ।

गौरीफन्टा र कञ्चनपुर भएर भारत रोजगारी गर्न जानेहरुमा मध्यपश्चिम र सुदरपश्चिमका दाङ, दैलेख, रोल्पा,सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, बझाङ, अछामलगायतका नागरिकहरू बढी रहेका छन् ।

यता भारतबाट रोजगारी गरी दशैँ–तिहारको समयमा घर फर्किने नेपालीहरुको लर्कोले कोरोनाको झनै जोखिम पनि बढेको छ । दाेस्रो चरणको कोरोना अझै निर्मुल नभएको र आम जनमानसमा तेस्रो चरणको कोरोना पनि आउने पो हो कि भन्ने त्रास कायम रहेका बेला यो भीडका कारण जाेखिम बढेकाे छ ।

उसो त सीमामा अहिले भीमदत्त नगरपालिकाले घर फर्किरहेका नेपालीहरुका लागि कोरोना एन्टीजीन परीक्षण पनि गरिरहेको छ । तर पनि यो हुलमा न कुनै सामाजिक दुरी देखिन्छ न सबैले मास्क लगाएको देखिन्छ ।

उनीहरु मजदुरीका लागि भारतको राजधानी दिल्ली, गढ्वाल, सिमला, चण्डीगढ, जम्मु-कश्मिर लगायतका स्थानमा जाने गरेका छन् ।

काम गरेर वर्षभरीको कमाएको रकम लिएर आफ्ना परिवार, बालबालिका एवं आफन्तसँग रमाएर चाडपर्व मनाउन घर फर्कँदा अत्यन्तै उत्साहित भएको उनीहरु बताउँछन् ।

हुन त भारतीय सीमामा वर्षेनी नेपालीहरु लुटिने समस्या समेत कायमै छ । यस विषयमा उच्च सुरक्षा अधिकारी र दुवै देशका प्रशासनबीच पटक-पटक छलफल हुने गरे पनि निकास निस्कँदैन ।

यसपाली कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले सुरक्षाका लागि सीमानाकाहरूमा कुकुरको प्रयोग गरिरहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV