२२ आश्विन २०७८, शुक्रबार
  • पुरुषोत्तम पोखरेल

बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान यहाँ चरितार्थ हुन आउँछ । आजभोलि नयाँ-नयाँ वस्तुहरुका उत्पादनसंगै बिज्ञापनको होडबाजी र त्यसको प्रस्तुतिको तरिका पनि बदलिँदो छ । कुनै पनि उद्योग र कल-कारखानाबाट नयाँ उत्पादित वस्तु बजारमा पुर्याउनुभन्दा पहिले उक्त वस्तुको विस्तृत जानकारी र आकर्षण बढाउन सक्दोरूपमा विज्ञापनको ढ्याङ्ग्रो नपिटेसम्म आम उपभोक्ताको विश्वास जित्न नसकिने र सामान बिक्री गर्न पनि धौ-धौ पर्ने समय आयो । अहिलेको विज्ञापन र बजारप्रधान समाजमा उपभोक्तावादी संस्कृतिको संस्कार बढ्दो छ । यस्तो अवस्थामा उपभोक्ता, वस्तु र उत्पादकबीचको समन्वयकारी भूमिका विज्ञापनले गर्दै आएको पाउँछौँ । तत् सम्बन्धित उत्पादक वस्तुले कम्पनीको फाईदा र उपभोक्ताको ईच्छापूर्तिले मानिसलाई सुविधाभोगी एवं महात्वाकांक्षी बनाउँदै लगेको प्रष्ट हुन्छ ।

अहिले सम्पूर्ण विश्व एउटा ग्लोबल भिलेजको अवधारणामा अग्रसर रहेको बेला अन्तराष्ट्रीय ब्यापारको क्षेत्रमा ज्यादै ठूलो फड्को मारेको पाउँछौं । बिकशित देशहरुले बिकासशील मुलुकहरुको बजारमा आफ्नो अधिपत्य जमाउन अघि बढि रहेको बेला बिज्ञापनको महत्व बढेर जानु स्वभाबिक देखिन्छ ।

अंग्रेज़ीको Adaverting शब्द र लेटिनको Advertere बाट बनेको हुनाले यसको अर्थ मोडनु या मस्तिष्कमा प्रभाव पार्नु हो । संक्षेपमा भन्दा ग्राहक बर्गलाई बस्तुको बिस्तृत जानकारी दिएर आफुतिर आकर्षित पार्नु या लोभ्याउनु हो । हिजोको जस्तो भीड जम्मा गरेर आफ्ना कुरा राख्ने तथा पत्रपत्रिका पोस्टर पम्प्लेट माइकिंगमा मात्र बिज्ञापन सिमित रहेन, रेडियो टेलिभिजन फिल्म ईन्टरनेट लगायत याबत माध्यमहरु बिज्ञापनको लागि उपलब्ध रहेका छन ।

बहुराष्ट्रिय कम्पनीहरुका आफ्ना नयाँ उत्पादनको प्रचार-प्रसारको विज्ञापनमा अरबौं डलर खर्चिने भएको हुँदा अहिले केही कम्पनीहरुले भने आफ्नै सञ्चारमाध्यम खडा गरेर आफ्ना विविध उत्पादनहरुको रातदिन विज्ञापन फुकिरहेका छन् । कम्पनीका ब्राण्ड उत्पादनहरुको बिज्ञापनलाई आकर्षक र नाफामुखी बनाउन अर्धनग्न महिलाको पहिरन, हाउभाउ तथा कटाक्षतालाई यसरी प्रस्तुत गरिन्छ, जसको मोह र बासना आम उपभोक्त्तामाझ पस्केर उक्त वस्तु किन्न आतुर र लालायित बनाइरहेका हुन्छन् । कुनै पनि वस्तुको विज्ञापनलाई बारम्बार दोहर्याइरहँदा कमसल बस्तुहरु पनि बिस्तारै बिस्तारै आम उपभोक्ताको नजरमा असल बस्तु प्रतीत गराएर जनविश्वास बढाउनु विज्ञापनको मूल उद्देश्य हो । आम उपभोक्ताको अचेतन मनमा आफ्नो छाप छोडने बिचार नै बिज्ञापनको आधारभूत तत्व मानिन्छ ।

विज्ञापनमा महिला किन ?

हामीलाई अत्यावश्यक पर्ने प्रायः हरेक वस्तुहरुमा ठुल्ठुला कम्पनीहरुले महिलाका अंग अंगहरुलाई विज्ञापनमा अंकित गरी आफ्ना नयाँनयाँ उत्पादनहरुलाई बजारमा बिक्री-वितरण गर्दै आएका छन् । वास्तवमा उत्पादित वस्तुको गुण, विशेषता तथा महत्वलाई झल्काउने ठाउँमा उत्पादित प्याकेट डब्बाहरुको अधिकांश उपभोग्य वस्तुहरुमा सुन्दर युवतीको आकर्षक तस्वीरविनाका सामान बिरलै पाईन्छन् । महिलालाई भर्र्याङ बनाएर आफ्ना उत्पादित वस्तुप्रति आकर्षण बढाउन, बढी नाफा कमाउन तथा व्यापार विस्तार गर्ने गरिएको छ ।

महिलासँग सरोकार राख्ने विषय वस्तुमा महिलालाई देखाउनु स्वभाभिकै भए पनि पुरुषको अण्डरवेयर, सेभिङ क्रीम, परफ्यूम्, जीन्सपाइन्ट, किंगफिसर बियर आदिको विज्ञापनमा महिलाको सुन्दरता र हाउभाउले सीमा नै नाघेको अनुभूति गराउँदछ । कतिपय कम्पनीका उत्पादनमा अर्धनग्न महिलाहरुको हाउभाउ, कटाक्ष तथा मुद्रा पस्केर आम ग्राहक वर्गलाई विज्ञापनले लोभ्याइरहेका हुन्छन् । शिरदेखि पाउसम्म र जीमदेखि भान्सासम्मका सर-सामानहरुको विज्ञापन महिला शरीरमा केन्द्रित रहेका छन् । यस प्रकारको विज्ञापनबाट पुरुष मात्र लोभिने होइनन्, बरु मध्यम वर्गिय स्तरकी महिलाहरुमा समेत ब्युटी पार्लर र जीम जाने, डाइटिंग गर्ने र पहिरनमा आधुनिकता झल्काएर आफूलाई पश्चिमा देखाउने संस्कृति झांगिन थालेका छन् । यसबाट के बुझिन्छ भने विज्ञापनले महिला सोच–विचारमाथि पनि आफ्नो उद्देश्य थुपार्न सफल हुँदै गएको प्रष्ट हुन्छ ।

न्यूयोर्क टाइम्सका अनुसार सौन्दर्य प्रशाधनको भरमारको विज्ञापनले महिलाहरु आफू नराम्ररी भएको भान गराउँछ । त्यस्तै एउटा स्टाइलिस हिल भएको जुत्ताको विज्ञापनले महिलामा आफूमा केही कमी भएको आभास गराएको हुन्छ, जसले गर्दा राम्री हुन अनि अरुको बराबरी गर्न समाजमा एक प्रकारको होडबाजी नै चलेको पाइन्छ । विज्ञापनले केवल महिला शरीरमा मात्र होइन, विचारमा समेत आफ्नो अधिपत्य जमाउन खोजेको छ । हिजोआज बहुराष्ट्रिय कम्पनीहरुमा प्रायः १८-२८ वर्षकी छोटो पहिरनमा सजिएकी युवतीहरुको डिमाण्ड विश्व बजारमा बढ्दो छ । प्रायः एयरलाइन्स , होटेल, रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, हस्पिटल, बैंक, कलेज,आई टी तथा संचारको क्षेत्रमा अप्सरा–उर्वशी–मेनका जस्ती मनमोहक महिला कर्मचारीहरुको रुप र यौवनको आकर्षणलाई उक्त कम्पनीले जागीरको नाउँमा आफ्नो बजार विस्तार तथा नाफा आर्जन गर्ने जुक्ति विज्ञापनकै अर्को नयाँ रूपलाई पनि बिर्सन मिल्दैन ।

अश्लीलताकाे हद

आखिर अश्लीलता के हो ? यो एउटा असहज स्थिति हो । अक्सर हामी घर–परिवार आपसमा सँगै बसेर टेलिभिजन हेर्दाहेर्दै एक्कासि यस्तो विज्ञापन आउँछ, जसको कारण हामीमा लज्जाबोध गराउँछ । असहज स्थिति उत्पन्न गराएर हामी उठेर बाहिर हिड्छौं । गन्जी, अण्डरवेयर, दाह्री बनाउने रेजर या सेभिंग क्रीमको विज्ञापनमा माया गर्न दौडेर आउने युवती, स्कुटीको प्रचारमा मिनी स्कर्ट्लाई हावाले उडाएको दृश्य, टुथपेस्टको बासना, चकलेटको स्वाद, तथा फेसवासपछि झुम्मिन खोज्ने केटीको हाउभाउ, परफ्युम स्प्रे गर्दा आलिंगनमा बाँधिने युवती, छोरीको ब्याइफ्रेण्ड्को परफ्युम सुँघेर मलाई अन्टी नभन्नु मेरै नामले बोलाउ, अझ कलिडाको विज्ञापनमा बिपाशा बाशुको भित्री वस्त्रलाई डिनो मोरियाले दाँतले तानेको दृश्य, जीन्स पाइन्ट लिवाइजमा अक्षय कुमारको पाइन्ट खोल्दै गरेकी केटी, खानेपानी बेसलरी र किंगफिसर बियर, कलर्स मोबाइलजस्ताको अश्लिल विज्ञापन हेर्न र सुन्न नक्ने हुन्छन् । यद्यपि धेरै विरोधपश्चात् भारत सरकारले अश्लीलतामाथि प्रतिबन्ध गरे पनि नेपालका मिडियाहरुमा भने उस्तै उस्तै हाराहारीका अश्लिल विज्ञापनहरु संचारमाध्यममा छ्याप्छ्याप्ती देख्न र सुन्न पाइन्छ ।

अहिले भर्खर लेख्दालेख्दै हिन्दुहरुको धार्मिक भावनामा ठेस पुर्याउने एउटा विज्ञापन देखेर साह्रै दु:खी बनायो । भारतको लुगाहरुको ठूलो कम्पनी Myntra online ले आफ्नो विज्ञापनमा एकातिर द्रोपदीको साडी तानेर खोल्दै गरेको दृश्य र अर्कोतिर भगवान श्री कृष्ण आफ्नो मोबाइलबाट साडी किन्न online order गर्दै गरेको प्रतीकात्मक दृश्यको विज्ञापनले महिला जाति र हिन्दु भावनामाथिको कटाक्ष अत्यन्तै दु:खद मानिन्छ । यस्ता भड्किला विज्ञापनले यसरी नै अश्लीलता पस्किँदै जाने हो भने यो समाज कहाँ पुग्ला ? हाम्रा ससाना बालबालिकाको कलिलो मन–मस्तिष्कमा के असर पर्ला ? एउटा गम्भीर प्रश्न हाम्रा अगाडि तेर्सिएका छन् ।

आजको बदलिँदो परिवेशमा नारी स्वतन्त्रताको नाउँमा हिजोका मूल्य मान्यताहरु किनारा लाग्दै छन् । महिलाहरुले के लाउने, के खाने कहाँ जाने आदि आफ्नै निर्णय र अधिकार भएका छन् । स्वतन्त्रता ठिक हो तर एउटा सीमा र मर्यादा सम्म मात्र शोभनीय मानिन्छ । फिल्ममा झैँ विज्ञापनमा पनि चुम्बन, आलिंगन र नग्नता देखाउने गरिन्छ । जब सामाजिक मूल्य र मान्यताको उलंघन हुन्छ, तब त्यसलाई अश्लिलता भन्ने गरिन्छ । अश्लीलता अराजक हुन्छ । अर्को शब्दमा यो बिनालगामको घोडाझैं अनियन्त्रित र आक्रामक हुने गर्दछ । यसले मन र मस्तिष्कलाई कुनै बेला पनि गलत बाटोतिर डोर्याउने हुँदा अश्लीलतालाई असभ्यताको प्रतीक मानिन्छ । यस सन्दर्भमा विश्व प्रसिद्ध साहित्यकार लियाे टाल्स्टाय भन्छन् : अगाडि बसेकी कुनै सुन्दर महिलालाई देख्ने पुरुषले काल्पनिक रूपमा उसले आफ्नो बनाइसकेको हुन्छ, भन्नुको तात्पर्य अहिले जतासुकै अश्लीलता नै अश्लीलताले छाएको समाजमा बासनालाई प्रोत्साहित गर्दै लगेको छ भन्ने उनको भनाइ आज पनि मननयोग्य  छ ।

विज्ञापन केवल वस्तु या कम्पनीमा मात्र सिमित देखिँदैनन । सामान्यतया तपाँई-हामी पनि बजारमा त्यही सामान किन्न पुग्छौं, जहाँ महिलाको सुन्दर रुप र मुस्कान हुन्छन् । अफिस जाने प्रौढ कर्मचारी पनि बजारको दायाँबायाँ नियाल्दै चुरोट, पराग किन्न त्यही पसलमा पुग्छन्, जहाँ बात मार्ने तरुनीहरु पाउँछन् । हामी त्यही रेस्टुरेन्टतिर खाजा खान लम्किरहेका हुन्छौँ, जहाँ खाजा खादैं नयन ब्यापार गर्ने अप्सराहरु पाउँछौँ । यस्ता स्थलहरुमा स्वभाभिक रुपले भिडभाड बढने र बिक्रीमा वृद्धि भएको पाउँछौ, कारण स्पष्ट छ, वस्तुभन्दा पनि महिलाप्रतिको आकर्षण । वास्तवमा यो विकृत चिन्तन आजको विज्ञापनले डोर्याएको पदचिन्ह आफैँमा अश्लील विज्ञापन हो भन्दा अतिशयोक्त्ति नहोला । एउटी चार बर्षकी नानी पसलमा सामान किन्न जाँदा फ्रुटी, बिस्कुट या चिजबल दिनु भनेर माग्दिनन्, बरु फलानो कम्पनी या फलानो नामको बिस्कुट, फ्रुटी, चीजबल किटानीसाथ नाम उल्लेख गरेर वस्तु किन्न खोज्नुको अर्थ हो- बालबालिकाहरुको कलिलो मन र मस्तिष्कमा विज्ञापनको गहिरो छाप । नढाटी भन्ने हो भने हामी सबै विज्ञापनको नियन्त्रणमा रुमलिएका छौँ । हाम्रो मन र मस्तिष्कको स्क्रिनमा हरेक वस्तुको दौडिने विज्ञापनले उपभोक्तामा सचेतना र जागरुकता ल्याएको देखिन्छ तर विज्ञापनको प्रस्तुतिकारण न्यायसँगत देखिएन भन्ने गुनासो हो ।

सकारात्मक र नकारात्मक पक्षहरु

कुनै पनि कम्पनीको नयाँ उत्पादित वस्तुको नाम, वजन, स्वरुप, बनेको र समाप्ति मिति, गणस्तर ट्रेडमार्क आदि वस्तु विवरणले आम उपभोक्ता माझ विश्वसनीयता कायम गरेको छ । यसबाहेक होम डेलिभरि वारेन्टी ग्यरन्टी फिर्ता र बेलाबखतको अफरजस्ता सुन्दर र सकारात्मक पक्षलाई भने बिर्सन मिल्दैन ।

नकारात्मक पक्ष के छ भने उत्पादित वस्तुको म्याद सकिँदा पनि उक्त वस्तुमा रिलेबल गर्ने, मिसावट र कम तौलका वस्तुहरु प्याकिंग गर्ने, सुन्दर महिलाको आडमा कमसल वस्तुलाई असल देखाउने, विवाह, जागिर तथा स्वास्थ्यसम्बन्धी भ्रामक विज्ञापन मार्फत उपभोक्तालाई रनभुल्लामा पारेर ठग्ने , जन स्वास्थ्यसँग खेलबाड गर्ने गरिन्छ । यस्तै एक बेलायती अध्ययन अनुसार टेलिभिजनमा सिरियल, कार्टुन तथा गेम हेर्ने र खेल्ने, केटाकेटीहरुले खाने चिप्स, कुरकुरे बिस्कुट, चिसो पेय पदार्थ, जंकफूड आदि खाने केटाकेटीहरु प्रायः मोटाउने गरेका छन् ।

यसका अतिरिक्त घरका बालबालिकाहरुमा बिलासी वस्तुहरुप्रति आशक्ति बढ्ने, पिजा-बर्गर आइसक्रीम, चकलेट, कुरकुरे चिप्सजस्ता वस्तु खान लालायित रहँदासमेत अधिकांश अभिभावकहरुले नकार्न सकिरहेका हुँदैनन् । त्यही बानीले प्रोत्साहन पाएर भोलि महंगा-महंगा ब्राण्डेड जुत्ता लुगा ल्यापटप, मोबाईल, स्कुटी, बाईक र परफ्यूम किन्ने डिमाण्ड गर्ने, समाजमा अनावश्यक फेशनको आडम्बरी फुँई तथा शान देखाउने प्रवृत्तिले गर्दा पढाइप्रति ध्यान नजाने बालबालिकाहरु गलत बाटोमा लाग्ने सम्भावनाहरु अत्यधिक रहेका छन् ।

सारमा,

जुन देशमा नारी जातिको पूजा तथा सम्मान गर्दा देवताहरु रमाउने गर्दछन्, त्यस देशमा नारी जातिको आत्मसम्मानमा ठेस पुर्याउने अश्लील विज्ञापन पूर्णतया बर्जित मानिन्छन् । विज्ञापनको अर्थ मर्यादित तथा शिष्ट रुपले आफ्नो उत्पादित वस्तुको परिचय गराउनु हो । विज्ञापनलाई ब्यापारको आधारशीला मानिने हुँदा सोही अनुसारको प्रस्तुतिकारण अनिवार्य देखिन्छ । नारी जातिलाई विज्ञापनमा वस्तुको रूपमा रुपान्तरण गरेर उपभोक्ता माझ बासना पस्कनु अशोभनिय मात्र होइनन्, निन्दनीय मानिन्छ । तसर्थ विज्ञापन स्वतन्त्रताको नाउँमा समाजमा बासना पस्कने तथा नारीको अस्मितामाथि आँच पुर्याउने अश्लील विज्ञापनहरुमाथि नेपाल सरकारले एउटा निश्चित कसीमा बाँध्न आवश्यक छ । महिला जातिको गरिमामाथि आँच पुर्याउने तथा स्वस्थ समाजलाई खल्बल्याउने अश्लील विज्ञानहरुलाई राज्यले तत्काल अंकुश लाउन अब धेरै ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV