२२ आश्विन २०७८, शुक्रबार

काठमाडौँ : कवि तथा लेखक सुरेन्द्र अस्तफलको नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’ को लोर्कापण भएको छ । चितवनमा बसेर साहित्य सृजना गरिरहेका अस्तफलको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा कवितासङ्ग्रहको लोकार्पण गरिएको हो ।

आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका यस अगाडि शब्दहरू अविराम यात्रामा, आमा, बिम्बशिविर र हिउँको आरोहण कृति प्रकाशित भइसकेका छन् ।

शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक सङ्घ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष समेत रहेका छन् ।

कवितासङ्ग्रह ‘तेल भिसा’ युगबोध, जीवनबोध एवम् जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसङ्गतिबोध र प्रणयचेतको अभिव्यक्ति पाइन्छ ।

साहित्यकार प्रभा बरालले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्त्व्य शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि कवि श्रवण मुकारुङ रहेका थिए । कवि तथा समालोचक महेश पौड्याल र समालोचक ज्ञानु अधिकारीले कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

टिप्पणी गर्ने क्रममा महेश पौड्यालले भने, ‘ कवितामा पुस्तान्तरनको बजोड प्रस्तुति रहेको छ । कविसँग भएको आलोचनात्मक चेतको प्रयोग भएको भेटिन्छ ।’

त्यसैगरी ज्ञानु अधिकारीले भनिन्, ‘ वृद्धवृद्धाको निरासमय अभिव्यक्ति रहेको पाइन्छ । ’

प्रतिक्रिया दिनुहोस्

LIVE TV