२१ आश्विन २०७८, बिहीबार
  • मुस्कान श्रेष्ठ

वीरगञ्ज । वीरगञ्जमा पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले आगामी कात्तिक ५ गते महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेको हो ।

उद्यमशीलतामा नेपाली महिलाको सहभागीता बढाउने उद्देश्यले मोफसलमै पहिलोपटक वीरगञ्जमा सम्मेलन गर्न लागेको एनवाइइएफका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए ।

अध्यक्ष अग्रवालका अनुसार सम्मेलनमा विविध क्षेत्रमा सहभागी महिला उद्यमीको मेहेनत, सङ्घर्ष तथा सफलताका विषय प्रस्तुति गरिने छ । सम्मेलनमार्फत विभिन्न क्षेत्रमा व्यवसायमा सफल महिला उद्यमीको सफलता, सङ्घर्ष र धैर्यताका अनुभव आदानप्रदान गरिने छ ।

सम्मेलनले महिलामा उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । व्यवसायमा स्थापित उद्यमी र स्टार्टअपबीच हुने सम्मेलनबाट सहभागीलाई ज्ञान, सीप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको एनवाइइएफ वीरगञ्जका अध्यक्ष अग्रवालले जानकारी दिए ।

उद्यममा महिलाले भोग्नुपरेका समस्यालाई उठान गर्ने र समाधानका उपायमा गहन छलफल गर्नु सम्मेलनको मूल उद्देश्य भएकाे अध्यक्ष अग्रवालकाे भनाइ छ ।

लेडिजसर्कल नेपालसँगका सहकार्यमा हुने उक्त सम्मेलनमा मुलुकभरका करिब १०० भन्दा बढी सफल महिला उद्यमीको सहभागीता रहने सम्मेलन संयोजक मनिषा सुनुवारले जानकारी दिइन् ।

सम्मेलनमा हुने विभिन्न सत्रका विषयवस्तु व्यवसायमा नवप्रवेशीका लागि प्रेरणाको स्रोत बन्न सक्ने दाबी गरिएको छ । सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरूबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरका रुपमा रुपान्तरण गर्ने दक्षता विकास हुने विश्वास आयोजकको छ ।

आर्थिकरुपमा महिलाको सहभागीता र सक्रियता न्यून भएको अवस्थामा आयोजना हुन गइरहेको सम्मेलनले उद्यमशीलता प्रवर्द्धन , नवप्रवर्तन र व्यावसायिक चुनौती सामनाको सामथ्र्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको हो ।

जनसङ्ख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको आर्थिक सशक्तीकरण नभई अर्थसामाजिक विकास सम्भव नहुने आयोजकको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV