२१ आश्विन २०७८, बिहीबार

काठमाडौं । पाँचथर जिल्ला अस्पतालमा बालिकाको मृत्यु भएपछि तनाव सृजना भएको छ । सामान्य रुघाखोकी लागेपछि उपचारका लागि जिल्ला अस्पताल भर्ना भएकी जिल्लाकै फालेलुङ गाँउपालिका ८ की कृष्टिना लिम्बूको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेपछि तनाव सृजना भएको हो ।

केही दिन अघि कृष्टिनालाई रुघाखोकी लागेपछि अस्पताल भर्ना भएकी थिइन् । उपचारपछि सामान्य अवस्थामा रहेकी कृष्टिनाको बुधबार मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीले उनको मृत्यु भएको भन्दै उनको आफन्तले बुधबार दिउँसो शव उठाएका थिएनन् ।

छलफलकै क्रममा अस्पताल तोडफोड

अस्पताल र मृतकका आफन्तबीच छलफल भइरहेकै बेला बुधबार राति सयौँको संङ्ख्यामा आएका स्थानीय नागरिकले अस्पताल तोडफोड गरेका छन् । राति १० बजे सम्म सयौँको संख्यामा आएका आक्रोशित स्थानीयले अस्पतालमा ढुङ्गा मुढा गरेर अस्पतालको झ्याल ढोका सिसा फुटाएका छन् । त्यस्तै अस्पतालको परिसरमा इटा र ढुँगा पनि थुपारिएको छ ।

हाम्रो संलग्नता छैन : मृतकका आफन्त

उक्त तोडफोडमा आफूहरुको संलग्नता नरहेको मृतककमा परिवारले बताएका छन् । उनीहरुले बिज्ञप्ति जारी गर्दै आफुहरु शान्तीपूर्ण वार्ता मार्फत समस्याको टुंगो लगाउने पक्षमा रहेको भन्दै बताएका छन् । उनीहरुले अस्पातलमा कुनैपनि उच्छृङ्कल गतिविधि नगर्न पनि उनीहरुले बिज्ञप्तिमार्फत आग्रह गरेका छन् । उक्त घटनामा आफ्नो परिवारको संलग्नता नरहेको स्पट पारिएको बिज्ञप्तिमा जनाइएको छ ।

घटनामा परिवारको दावी यस्तो छ

मृतकका काका युवराज लिम्बूका अनुसार कृष्टिना फिदिम नगरपालिका १ मा बस्दै आएकी थिइन् । उनलाई केहीदिन अघि रुघा खोकी लागेपछि जिल्ला अस्पताल भर्ना गरिएको थियो । उनको अवस्था सामान्य थियो ।  केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार  पनि भयो ।

‘बुधबार उनको डिस्चार्ज हुने तयारी गरिएको थियो । डिस्चार्जको तयारी हुँदै गर्दा राउण्डमा आएका चिकित्सकले उनलाई इन्जेक्सन लगाउनु पर्ने बताए । उनलाई इन्जेक्सन दिइयो । त्यसपछि उनी बेहोस भइन् । र, २ मिनेटमै उनको निधन भयो,’ मृतकका काका युवराजले भने ।

उनले सामान्य अवस्था भइसकेको र उनको डिस्चार्ज गर्ने तयारी हुँदै गर्दा स्वास्थ्यकमीकै गलत ‘इन्जेक्सन’का कारण छोरीको मृत्यु भएको युवराजको आरोप छ ।

उनले भने, ‘बेडमा आमासँग गफ गर्दै खाजा खाएकी कृष्टिना सुइ लगाउने बित्तिकै चिच्याएर बेहोस भएरको २ मिनेट नबित्दै निधन हुनुमा स्वास्थकर्मीको लापरबाही हो।’

अस्पताल के भन्छ ?

जिल्ला अस्पताल पाँचथरले भने कृष्टिनाको उपचारमा स्वास्थ्यकर्मीबाट कुनै लापरवाही नभएको दावी गरेकाे छ । कृष्टिनाको स्वास्थ्य अवस्था बुधबार बिहानबाटै जटिल बनेको र सो समयमानै उनका आफन्तलाई जानकारी गराइएको अस्पतालको भनाइ छ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर उनको उपचार गर्दागर्दै अप्रिय घटना भएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।

यदी उपचार प्रकियाबारे परिवारको शंका भएको भए विज्ञ सम्मेलित टोलिको गठन गरी छानविन गर्न सकिने र दोषि पाइए सजायको भागेदार बन्ने उपचारमा संलग्न चिकित्सकहरुले पनि बताएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV