२० आश्विन २०७८, बुधबार

काठमाडौं । २२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । बुधबार निर्माण सम्पन्न भएको अवसरमा धनकुटाको हिलेमा एक समारोह आयोजना गरेर नेपाल विद्युत प्राधिकरणलाई उक्त विद्युत प्रसारणलाइन हस्तान्तरण गरिएको छ ।

१०६ किमि लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण कूल १० अर्ब ४ करोड रुपैयाँ (८६.८ मिलियन अमेरिकी डलर) लागतमा निर्माण भएको हो । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत यस प्रसारण लाइनको निर्माण भइरहेको छ ।

भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले ४ अर्ब ५ करोड रुपैयँ (३७.३ मिलियन अमेरिकी डलर) लागतमा यस परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएको थियो । पहिलो प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई परियोजना हस्तान्तरण गरिएको छ ।
बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २००० मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्नेछ ।

 

उपप्रमुख नामग्य खम्पा

 

समारोहमा बोल्दै नियोग उपप्रमुख नामग्य खम्पाले भारत ऊर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको बताएकी छन् । उनका अनुसार नेपालमा विद्युत परियोजनाको विकास, दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको छ ।

गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गरेकोमा कलपत्रु पावर ट्रन्समिसन लिमिटेडलाई उनले धन्यवाद व्यक्त गरिन् । साथै परियोजना सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र स्थानीय प्रशासनप्रति पनि उनले आभार प्रकट गरिन् ।

कोशी कोरिडोरको अतिरिक्त भारतले १३२ केभि क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ । साथै, अन्य विद्युत प्रसारण लाइनको निर्माणका काम पनि भारतले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV