२० आश्विन २०७८, बुधबार
  • भगतराम थारु

नेपालगन्ज । ६६ औं प्रहरी दिवस बाँकेमा पनि भव्यताका साथ मनाइएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा भएको ६६ औं प्रहरी दिवस भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख आतिथ्यता बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाल प्रहरीको गर्विलो ईतिहास र सुनौलो भबिष्य रहेको र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पूरा गर्नका लागि जुनसुकै कठोर निर्णय लिन पनि तयार रहेको बताएका थिए ।

६६ औं प्रहरी दिवस अवसरमा पूर्वप्रहरी, अशक्त अवकाशप्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा सञ्चारकर्मी, नागरिक समाज, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, शसस्त्र प्रहरी बलका स.प्र.उ. अशोक बहादुर बम, नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख नरेन्द्र राज गिरी लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तब्य प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेले गरेका थिए भने प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले गरेका थिए ।

कार्यक्रममा पुर्व प्रहरी कर्मचारीको तर्फबाट पुर्व प्रहरी नायव उपरीक्षक जोति प्रसाद श्रेष्ठ, अमर प्रहरी परिवारको तर्फबाट एकमाया बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथिज्युबाट पुष्पहार अर्पण गरेका थिए । त्यसपश्चात उपस्थित सम्पूर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।

उक्त कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईका प्रहरी कर्माचरीहरुलाई तथा प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकबाट प्राप्त कदर पत्र प्रदान गरिएको तथा अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई प्रमुख अतिथिले सम्मान गरेका थिए ।

साथै ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा बिभिन्न विधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस, कुर्सी दौड प्रतियोगिता सञ्चालन गरिएकोमा खेलकूदमा प्रथम, द्वितीय, तृतीय हुनेलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा तयार पारीएको पुस्तक लागू औषध विरुद्धको निस्तेज अभियान २०७७÷०७८ को बिमोचन समेत गरीएको थियो र उपस्थित सम्पूर्णमा निःशुल्क वितरण गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV