२० आश्विन २०७८, बुधबार

काठमाडौं । सर्लाहीका कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गरिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा सर्लाही जिल्ला इन्चार्ज पौडेलको ‘इन्काउन्टर’ प्रकरणमा  पूर्वगृहमन्त्री बादल र खनालविरुद्ध बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीमा जाहेरी दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले जाहेरी सनाखत सकिएको र प्रतिवेदन सर्वोच्चमा पठाउने काम भइरहेको जनाएको छ । यसअघि सर्वोच्च अदालतले जाहेरी दर्ता गरेर अनुसन्धान गर्नू भनि आदेश जारी गरेको थियो ।

यससँगै महान्यायाधीवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीलाई पत्र लेखेर जाहेरी दर्ता गर्न भनेको थियो । जाहेरीका लागि दिइएको एक हप्ता नबित्दै बुधबार जाहेरी दर्ता गरिएको छ ।

२०७६ असार ५ गते दिउँसो पौडेलेको प्रहरीसँगको दोहोरो भिडन्तमा मृत्यु भएको भनिएको थियो । तर, पछि मानव अधिकार आयोगको छानविन टोलीले भने विपरीत निष्कर्ष निकाल्यो । आयोगले इन्काउन्टर नभई हत्या गरिएको निष्कर्ष निकालेको थियो ।

त्यसपछि आयोगले इन्काउन्टरुको निर्देशन दिने तत्कालीन आईजीपी खनालसम्मलाई कारवाहीको दायरामा ल्याउन माग पनि गरेको थियो ।

यसैगरी पौडेलको लालबन्दी नगरपालिका्–१ लखनदेवीस्थित जंगलमा हत्या भएको आयोगको अनुसन्धानमा खुलेको थियो। त्यस्तै, कुमार पौडेलसहित ४ जना व्यक्तिको समूहले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले जवाफी फायरिङ गर्दा पौडेलेको ज्यान गएको प्रहरीको दाबी झूठो रहेको पनि आयोगले निष्कर्ष निकालेको थियो।

यसैगरी प्रहरीले त्यतिखेर भनेका दाबीहरु सबै झूठा भएको पनि आयोगको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV