२० आश्विन २०७८, बुधबार

काठमाडौं । राष्ट्रिय हित हेरेर तत्काल संसदबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पारित गर्न आग्रह गरिएको छ ।

बुधबार निजी क्षेत्रका तीन ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकाले अनुदानवापत् दिने भनेको ५५ अर्ब रुपैयाँले आर्थिक वृद्धीमा सघाउ पुग्ने र राष्ट्रिय हित हेरेर संसदबाट तत्काल एमसीसी पारित गर्नुपर्ने सरकार र सरोकारवालासमक्ष आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्नेछ । कोभिड १९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसिसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष आग्रह गर्दछौं ।’

दुई देशबीच एमसीसी सम्झौता भएको ४ वर्ष बितिसकेको छ । तर, एमसीसी लागू हुने या नहुने भन्ने विषयमा आममानिसहरु दुई भागमा विभाजित छन् ।

कोही एमसीसी नेपालमा भित्राएर आर्थिक वृद्धि गर्न भनिरहेका छन् भने कोही एमसीसी नेपालमा आए सैनिक अखडा भनेर भनिरहेका छन् । यस सन्दर्भमा सबैलाई विश्वास तुल्याउने आधार भने सरकारले तय गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV