२० आश्विन २०७८, बुधबार
  • सविन लामिछाने

दमौली । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले नगरपालिकाको गाडी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलाई दिएका छन् ।

६ महिना अघि ५४ लाखमा नगरपालिकाले खरिद गरेको ग १ झ ५४३ नम्बरको स्कोरपियो गाडी नगरप्रमुख न्यौपानेले जिसस प्रमुख वाग्लेलाई दिएका हुन् ।

मेयर र जिसस प्रमुख दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित हुन् । वाग्ले कांग्रेस व्यास नगरका निर्वतमान सभापति हुन् भने न्यौपाने कांग्रेसका तनहँ सभापति हुन् ।

समन्वयलाई सिधै गाडी खरिद गर्ने अधिकारी नभएकाले नगरपालिका मार्फत खरिद गरिएको नगरप्रमुख न्यौपानेको दाबी छ । उनले भने, ‘समन्वयलाई सिधै गाडी खरिद गर्ने अधिकार छैन । हाम्रो विकासको योजनामा समन्वयले बजेट हालिदिएको छ, त्यसैले हामी मार्फत गाडी खरिद गरेर दिएका हौं ।’

तर, यो उनको दाबी झुट हो । जिसस प्रमुखलाई हलुका सवारी चालक सहितको सवारी साधनको सेवा पाउने अधिकार जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उल्लेख छ ।

गाडी खरिद गरि जिससलाई दिँदा नगरपालिकालाई नाफा भएको मेयर न्यौपानेको भनाइ छ । उनले भने, ‘हामीले ५४ लाखको गाडी खरिद गरेर दिँदा ७८ लाख बराबरको योजनामा बजेट समन्वयले बजेट हालिदिएको छ ।’

समन्वयले वडा नं १ को वडा कार्यालयको भवन निर्माणको लागि १५ लाख, ९ नं वडा कार्यालयको भवन निर्माणको लागि १५ लाख, रानी गाउँ डीप बोरिङ्ग खानेपानी योजनाको लागि २८ लाख ८७ हजार ५ सय, सत्रसय खानेपानी योजनाको लागि ७ लाख ५० हजार, श्रीचौर खानेपानी योजनाको लागि ७ लाख ५० हजार र सिमलटार नरंगा खानेपानी योजनाको लागि ४ लाख ५० हजार गरि कुल ७८ लाख ३७ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तर स्थानीय तहले खरिद गरेको गाडी लिन पाउने प्रावधान भने छैन । यस विषयम जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेसँग प्रतिक्रिया लिँदा गाडी लिन मिल्ने प्रावधान रहेको बताए । उनले भने, ‘स्थानीय तहले समन्वयलाई गाडी दिन मिल्छ । मिल्ने भएर नै हामीले गाडी लिएका हौं,’ उनले अघि भने, ‘नगरपालिकाको विकास निर्माणको अनुगमन गर्न सहजताको लागि गाडी लिएका हौं ।’

यता कानुन व्यवसायी खगेन्द्र सुवेदीले नगरपालिकाको रकमले किनेको गाडी जिससले चढ्न नमिल्ने बताउँछन् । नगरपालिकाले उठाएको करमार्फत खरिद गरिएको गाडी जिसस प्रमुखले चढेर हिँड्नु अव्यवहारिक हुने उनको तर्क छ । ‘सम्झौता भएको भए केही भन्न मिलेन, तर पनि नगरपालिकाले जनतासँग उठाएको पैसाले जिससलाई गाडी दिनु उचित सुनिँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV