१९ आश्विन २०७८, मंगलवार
  • हरिशंकर शर्मा

वीरगन्ज । वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय नारायणी, लाइसेन्ट फाँटमा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स)लाई सक्कली बनाइदिने गरेको रहस्य खुलेको छ ।

विगतमा जारी गरिएका लाइसेन्सलाई नवीकरण गर्ने क्रममा स्मार्ट लाइसेन्समा रुपान्तरण गर्दा विना प्रमाण कागजातकै आधारमा नवीकरण प्रक्रियालाई अगाडि बढाइएको पाएपछि यातायात कार्यालयमा नक्कली लाइसेन्सहरुलाई सक्कली बनाउने धन्दा चलेको खुल्न आएको हा ।

गत २०७७ माघ, फागुन महिनामा नवीकरणका लागि आवेदन परेका लाइसेन्सहरुमध्ये १८३ थान लाइसेन्सको नवीकरण रोकिएको छ । नवीकरणका लागि वीरगन्जमा आवेदन परेका मध्ये १८३ भन्दा बढी बुटवल स्थित यातायात व्यवस्था कार्यालयबाट जारी भएको देखिएपश्चात बेस कागजात खोज्दा नभेटिएपछि नवीकरण रोकिएको हो ।

लाइसेन्स फाँटमा नक्कली लाइसेन्सलाई सक्कली लाइसेन्स बनाउने धन्दा बाहिरिएपछि यहीँ २०७८ भदौमा अनुसन्धान थालिएको थियो ।
अनुसन्धानको क्रममा २०७७/०७८ मा नवीकरणका लागि आवेदन परेका लाइसेन्सहरुमध्ये १८३ वटा लाइसेन्स शंकाको घेरामा राखेर नवीकरण रोकिएको छ ।

शंकाको घेरामा राखिएको १८३ वटा लाइसेन्सहरुमध्ये अधिकाँश लाइसेन्स हेभि सवारीको लाइसेन्स नवीकरणको प्रक्रियामा रहेको पाइएको छ । त्यसबारे आवश्यक छानविन भइरहेकोले नवीकरण रोकिएको यातायात व्यवस्था कार्यालय नारायणी, वीरगन्जका लाइसेन्स शाखा प्रमुख शुसिल साहले बताए ।

नवीकरण गर्न ल्याइएका लाइसेन्स भेटिएन ढड्डामा

शंकाको घेरामा राखिएको लाइसेन्सहरुमध्ये कतिपय लाइसेन्सको ढड्डामा मिसिल नभिटिएको तथा ‘ए’ लाइसेन्स ढड्डामा रहेपनि स्मार्ट कार्ड नवीकरण गर्नका लागि ‘ए’ र ‘बि’ दुबैको नवीकरणका लागि प्रक्रिया अघि बढाइएको गतिविधिहरु भेटिएका कारण ती लाइसेन्सहरुलाई शंकाको घेरामा राखरे अहिले अनुसन्धान भइरहेको प्रमुख साहले जानकारी दिए ।

स्मार्ट लाइसेन्स बाड्नुभन्दा अघिका लाइसेन्सहरु नवीकरण गराउँदा त्यसको ढड्डा र मिसिल भिडाएर ढड्डा मिलान गर्नुपर्छ, तर ढड्डा र मिसिलमै डाटा नभेटिएका नक्कली अनुमतिपत्रलाई पनि नवीकरण गरिएको पाइएको छ ।

अहिले स्मार्टकार्ड लागू भएसँगै लाइसेन्स अनलाइनकरण भएको छ । अनलाइन सुविधाले जुन कार्यालयबाट लाइसेन्स लिइएको हो उक्त कार्यालयबाट लाइसेन्स नवीकरण गर्न सकिने व्यवस्था सरकारले गरेको छ ।

त्यसो त लाइसेन्स नवीकरण गर्दा कार्यालयले ढड्डा मिलान गर्नुपर्ने हुन्छ । तर, ढड्डामा कागजात नमिलेको लाइसेन्सको नवीकरण गर्न नमिल्ने प्रावधान हुँदाहुँदै वीरगन्ज कार्यालयबाट ठूलो संख्यामा यस्ता लाइसेन्सहरु नवीकरणका लागि प्रक्रियाहरु अगाडि बढाइएको पाइएकोले तिनीहरुको नवीकरण रोकिएको कार्यालयका आइटी शाखाका कर्मचारी शम्भु चौधरीले बताए ।

एउटै नम्बरको लाइसेन्स तर समूह फरक

वीरगन्जमा सवारी चालक अनुमति पत्र नवीकरणका लागि आवेदन परेकाहरुमध्ये १८३ वटा मात्रै बुटबलबाट जारी भएको लाइसेन्स भेटिएपछि अनुसन्धान गर्दै जाँदा अधिकाँशको लाइसेन्सहरु कीर्ते भएको फेला पारिएको छ ।

कतिपय व्यक्तिका लाइसेन्स फरक फरक समूहको रहेको पाइएको छ । ढड्डाको ‘ए’ ‘वी’ भनेर लेखिएको क्रमअनुसार लाइसेन्स भेटिएका छैन । ढड्डामा ‘ए’ देखिएका सेवाग्राहीको उसले लिएको अनुमति पत्रकै आधारमा ‘वी’ कै लागि नवीकरण गर्न गिरोहसँगको मिलेमतोमा कर्मचारीहरुले नै प्रकृया अघि बढाएको पनि पाइएको छ ।

वीरगन्ज कार्यालयबाट यसरी सयौँ अनुमतिपत्रहरु नवीकरण भएको अनुमान गरिएको छ । अहिले सूचना पाएर मात्रै केही सीमित मात्राको लाइसेन्स नवीकरण रोकिएको छ, तर अहिलेपनि खुलामखुला धन्दाहरु चलिरहेका छन् ।

२५ कर्मचारीसँग छ आइडी पासवर्ड

अहिले भेटिएको १८३ वटा अनुमतिपत्रको नवीकरणको प्रकृया वीरगन्ज कार्यालयबाटै अघि बढाइएको छ । वीरगन्ज कार्यालयबाट दर्ता हुने फाराम बुटवल कार्यालयबाट दर्ता भएको पाइएको छ ।

तर, त्यसमा वीरगन्ज कार्यालयकै कर्मचारीको युजर पासवर्ड प्रयोग गरिएको देखाएको छ । यसले वीरगन्ज कार्यालयकै कर्मचारीको मिलेमतोमा नक्कली लाइसेन्सलाई सक्कली बनाउने गोरख धन्धा भइरहेको पुष्टि हुन्छ ।

अनुमति पत्र नवीकरण तथा नयाँ अनुमतिपत्रका लागि वीरगन्ज कार्यालयका २५ जना कर्मचारीलाई युजर नेम र पासवर्ड दिएको छ । यसैमध्येका कुनै कर्मचारीले ती अनुमतिपत्र नवीकरणको प्रकृया अघि बढाएका हुन् र त्यसैको अनुसन्धान भइरहेको छ ।

तर, अहिले नै यही कर्मचारीले आफ्नो युजर पासवर्ड प्रयोग गरेको भनेर भन्न नसकिने अवस्था रहेको कार्यालय प्रमुख साहको भनाई छ । बुटवल कार्यालयबाट जारी भइ वीरगञ्जबाट नवीकरण भएका त्यस्ता अनुमति पत्रको नवीकरण रद्द गरि विभागलाई डाटा मिलान गर्न र कर्मचारीको युजर आइडी पहिचान गर्न परिपत्र पनि गरिएको प्रमुख साहले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV