१९ आश्विन २०७८, मंगलवार

रौतहट । गरुडाको मुख्य बजारमा अवस्थित छ गरुडा नगरपालिकाको भवन । नगरपालिकामा नगर प्रमुख इन्नु राय यादव र उपप्रमुख रंगिला देवी जैसवालको कार्यकक्ष सँगसँगै छन् । ‘ओल्लो कोठा, पल्लो कोठा’ । यति नजिक कार्यकक्ष हुँदा पनि नगर प्रमुख यादवले उपप्रमुख जैसवाललाई नगरपालिकाको छैंठौ नगरसभामा सहभागि हुन हुलाक मार्फत चिठी पठाएका छन् ।

निर्वाचित भएर आएको केही समयपछिनै दुबैजनाको सम्बन्ध सुमधुर छैन् । उनीहरुको कार्यकालको अन्तिम वर्षमा आइपुग्दा सम्बन्ध पानी बाराबारको अवस्थामा पुगिसकेको छ । नगर प्रमुख र उपप्रमुखको तालमेल नहुँदा सो नगरपालिकामा कुनै पनि वर्ष समयमा नगरसभा हुन सकेको छैन् । जसले गर्दा नगरपालिकाको विकास निमार्ण लगायतका कामहरु प्रभावित भइरहेका छन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने र साउन लाग्नुअगावै पास गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यस वर्षपनि नगरपालिकाले ऐनले तोकेको समयसिमा भित्र नगरपालिकाले नगरसभा गर्न सकेन् ।

नगर प्रमुखको समुहले असोज १७ गते नगरसभा गर्ने निर्णय ग¥यो तर उपप्रमुखको समुहले नगर प्रमुख यादवकै कारण नागरिकहरुले सामाजिक सुरक्षा भत्ता लगायतको सेवा सुविधा नपाएको र नगरसभा संचालन हुनु अघि सम्पन्न गर्नुपर्ने विभिन्न समितिको बैठकहरु नराखेकाले सबै प्रक्रिया सम्पन्न भएपछि मात्र नगरसभा गर्नुपर्ने अडान राख्यो । तर नगरप्रमुखको समुहले उनीहरुको माग पुरा सम्बोधन गर्नुको सट्टा जसरी पनि नगरसभा गर्ने निर्णय गर्दै अगाडि बढ्यो ।

यसै बिच असोज १५ गते निमित प्रमुख प्रशासकिय अधिकृत महम्द मुस्ताक आलमले प्रक्रिया नपुगेको भन्दै नगरसभा स्थगित भएको सूचना जारी गरेपनि त्यसको केही घण्टा पछि नगरप्रमुख यादवले नगरसभा स्थगित नभएको र निर्धारित मितिमै हुने भन्दै छुट्टै सूचना जारी गरे ।

नगर प्रमुअ जसरी पनि नगरसभा गर्ने र उपप्रमुख वहिष्कार गर्ने अडानको बीचमा नगर प्रमुखले उपप्रमुखलाई असोज १७ गतेको नगरसभामा सहभागि हुनका लागि पत्र हुलाका मार्फत पठाए । ‘नगर प्रमुख र मेरोे कार्यकक्ष सँगसँगै छ तर उनले हुलाका मार्फत नगरसभामा सहभागि हुन भनेर पत्र पठाए’ उपप्रमुख भन्छिन् , ‘मेरो घर पनि नगरपालिकाबाट २ सय मिटरको दुरीमा छ । कोही कर्मचारीलाई भनेर घरमै पत्र पठाएको भएपनि भइहाल्थ्यो ।’ उनले नगरप्रमुखले आफ्नो सामाना गर्न नसकेकाले हुलाकको साहारा लिनुपरेको आरोप लगाइन् ।

यता नगर प्रमुख यादवभने उपप्रमुखले प्रत्येक वर्ष अनावश्यक बखेडा झिकेर समयमै नगरसभा गर्न नदिने गरेको आरोप लगाउँछन् । उनले आफुले कर्मचारी मार्फत धेरै पटक नगरसभाको पत्र पठाए पनि उपप्रमुखले नलिएकोले हुलाक मार्फत पठाएको जिकिर गरे । ‘उपप्रमुखले जतिपटक पत्र पठाएपनि नलिएपछि हुलाकबाट पठाएका हौँ’ उनले भने , ‘यसरी पत्र नपठाए मलाइ जानकारीनै छैन् भन्दै अदालतमा मुद्धा हाल्न जान्छन् , अनेक बहानीबाजी गर्छन् । ’

नगर प्रमुख र उपप्रमुखको झगडाले नगरको विकास प्रभावित भएको भन्दै स्थानिय भने चिन्तित बनेका छन् । विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य स्थानिय विवेक शर्माले नगर प्रमुख र उपप्रमुख मिलेर नगरको विकास गर्नुपर्नेमा झगडा गरेर बस्दा नगर र नगरवासीलाई सबैभन्दा बढि घाटा भइरहेको गुनासो गरे । ‘दुइजनाको झगडाले समयमै नगरसभा नहुँदा वजेटको सदुपयोग हुन सकिरहेको छैन्’ उनले भने , ‘ नगर र नगरवासीको हितको लागि दुबै मिलेर काम गर्नुको विकल्प छैन् ।’

विवादकै बीचमा गरुडा नगरपालिकाले भने असोज १७ गते आइतबार नगरसभाको आयोजना गरेको छ । नगर प्रमुख यादव समुहका कार्यपालिका सदस्य र शुभचिन्तकको उपस्थितिमा गरिएको नगरसभा उपप्रमुख जैसवाल समुहले भने वहिष्कार गरेको थियो ।

दिनको ११ बजेलाई तोकिएको नगरसभा आयोजना हुनु अगावै उपप्रमुख रंगिलादेवी जैसवाल सहीत २६ जनाले कार्यपालिका सदस्यले नगरसभा वहिष्कार गरेका थिए । सो नगरपालिकामा रहेका ४६ जना कार्यपालिका सदस्यहरुमध्ये वडा नम्बर २, ३, ४ , ७ र ९ का वडाअध्यक्ष सहित २६ जनाले नगरसभा वहिष्कारको घोषणा गरेपनि नगर प्रमुख यादवको समुहले नगरसभाको आयोजना गरेको थियो ।

नगरप्रमुखले वहुमत सदस्यको वहिष्कारलाई वेवास्ता गर्दै एकलौटी पाराले कानुन विपरित गरेको नगरसभा रद्ध नगरे कानुनी उपचार खोज्ने उपप्रमुख जैसवालले चेतावनी दिइसकेकी छिन् । यदि केही दिनभित्र यो विवाद नमिले अदालतको ढोकामा पुग्ने निश्चित प्रायः झैँ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV