१९ आश्विन २०७८, मंगलवार

बाल बिक्रम कार्की

रौतहट । वर्षौं पुरानो रिसिवी साँध्न सुपारी दिएर आफ्नै छिमेकीको हत्या गर्ने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २६ गते रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीलाई हत्या गरेर रुखमा झुण्ड्याइको थियो ।

घोरासैनीको हत्या गर्ने योजना बनाउने उनकै पुरानो छिमेकी घटनाका मुख्य योजनकार चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार टोल घर भई हाल जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कप्तान ३८ वर्षिय सहदेव भन्ने डोल प्रसाद बोलखेलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले काठमाडौँ प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार बोलखेले चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार बस्ने ४५ वर्षिय प्रल्हाल फुयाँलको सहयोगमा सिन्धुली जिल्ला पिपलमाडी गाविस वडा नम्बर ९ घर भई हाल पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ३ सृजना टोल बस्ने २४ वर्षिय रमेश पहरी र नवलपरासी जिल्ला पूर्व कावासोती नगरपालिका वडा नम्बर ८ बस्ने २३ वर्षिय सूर्य बहादुर भण्डारीलाई ३ लाख रुपैयाँमा सुपारी दिएर घोरासैनीको हत्या गर्न लगाएका हुन् ।

प्रहरीले गत असोज ११ गते ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेपनि बोलखे भने फरार रहेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार बोलखेलाई १७ गते आइतबार काठमाडौँको दरबारमार्ग आसपासको क्षेत्रबाट पक्राउ गरिएको हो ।

‘हामीले लगातार उनी लुक्न सक्ने सम्भावित स्थानहरुमा निगरानी राखिरहेका थियौँ’ उनले भने, ‘उनी पक्राउ पर्ने डरले विभिन्न स्थानमा लुकेर बस्ने गरेका थिए । तर हामी उनलाई पक्रन सफल भयौँ।’

पक्राउ परेका बोलखेलाई आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको उनले जनाए ।

मृतक घोरासैनी र मुख्य योजनाकार बोलखेको परिवार करिब २० वर्ष पहिलादेखिनै गैडाटारमा छिमेकी रहेका अवस्थामा धामीझाक्रीको काम गर्ने घोरासैनीका बुबा भिमदत घोरासैनीका कारण आफ्ना परिवारका सदस्यहरु बिरामी परेको रिस साँध्न बोलखेले घोरासैनीके हत्याको योजना बनाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV