१८ आश्विन २०७८, सोमबार
  • प्रेम सुनार

बुटवल । तिलोत्तमा नगरपालिका–५ कि २७ वर्षीया सीता भण्डारी पौड्यालको रहस्यम मृत्युलाई प्रहरीले ‘ह्याङ्गिङ’ भनेर भनेपछि माइती पक्ष आन्दोलित भएको छ ।

आइतबार माइती पक्षले रुपन्देहीको जिल्ला अदालत घेराउ गर्दै नाराबाजी गरे । ‘घुस खान पाइँदैन’ ‘अपराधीलाई कारवाही गर’, ‘हत्यारालाई खुलेआम छोड्न पाइँदैन’ लगायतका नाराहरु लगाइएको थियो ।

शुक्रबार प्रहरीले ल्याएको प्रतिवेदन सबै झूठा भएको भन्दै माइती पक्ष पुनः सडकमा उत्रिएको छ । घटनाबारे सत्य छानविन नभएसम्म मृतकको शव अस्पतालबाट उठाउन नदिने भन्दै माइती पक्ष र स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा मृतक सीताले आत्महत्या गरेको उल्लेख छ । मृतक सीता र उनका श्रीमान टिका पौड्यालबीच मोबाइलमा त्यस दिन भएको कुराकानी चेकजाँच गरिएको पनि प्रहरी अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ । ‘

‘मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनि भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ भनेर प्रतिवेदनमा लेखिएको छ ।

मृतक सीताले भदौ २० गते राति १२ बजेर १७ मिनेटमा उनका श्रीमानलाई आइफोन मोबाइलको नोटमा लेखेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । यसबारे अझैँ सत्य तथ्य अनुसन्धान गर्न डिजिटेल फोरेन्सिक ल्याबमा पठाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

तर, प्रहरीले ल्याएका यी सबै रिपोर्ट झूटा र प्रतिवेदनमा सुसाइड नोटको भाषा प्रहरीले ने लेखेको माइती पक्षको आरोप छ । मोबाइलमा भएको सुसाइट नोट जस्ताको तस्तै सार्वजनिक नगरिनु सुसाइड नोट बनावटी भएको मृतकका बाबु हरि प्रसाद भण्डारीको आरोप छ । जबकि यसअघि यसबारे केही भनिएको थिएन र एक्कासी कसरी यस्तो भयो भनेर मृतकका बुवा प्रश्न गर्छन् ।

भदौ १९ गते माइतीबाट फर्केर आएकी सीताको भोलिपल्ट भदौ २० गते बिहान ओछ्यानमा रहस्यम मृत्यु भएको थियो । माइती पक्षका अनुसार कोठामा पुग्दा सीता ओछ्यानमा पल्टिएका थिए । तर, उनको प्राणपखेरु उडिसकेको थियो ।

उनको गलामा पासो, मुखबाट रगत बगिरहेको थियो । शरीरका विभिन्न भागमा निलडामसहित सिरानीमा टाउँको राखिएको अवस्थामा सीताको शव फेला परेको माइती पक्षको भनाइ छ ।

घटना घटेपछि माइती पक्षको उजुरीबमोजिम मृतकका श्रीमान टिका पौड्याल र आमाजु विष्णु पौडेलविरुद्ध जिल्ला अदालतमा उजुरी दिइएको थियो । र, उनीहरुलाई आत्म हत्या दुरुत्साहन मुद्धामा प्रहरीले अनुसन्धान थालनी गरेको थियो ।

प्रहरीले बिचमा दुवैलाई छाड्न खोजेपछि माइती पक्ष र स्थानीय फेरि जिल्ला प्रहरी कार्यालय रुपन्देही घेराउमा पुगेका थिए ।

आईतबार आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले नियन्त्रण लिएका मृतक सीताका श्रीमान टिका, जेठाजु हरिप्रसाद पौडेल र आमाजु विष्णु पौड्याललाई सरकारी वकिलले जिल्ला अदालतमा पेश गर्न लागेको थाहा पाएलगत्तै माइती पक्षअदालत घेर्दै नाराबाजी लगाएका थिए ।

घटना सामसुम पार्ने दाउमा प्रहरी

उता, घटनाबारे प्रतिवेदन सार्वजनिक गरेपछि प्रहरी भने ढुक्क छ । रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुसन्धानमा जे भेटियो त्यहीँ सार्वजानिक गरिएको बताउछन् ।

माइती पक्ष भने प्रहरीको अनुसन्धान पूरै सेटिङ र बनावटी भएको आरोप लगाइरहेको छ । यस विषयमा डिएसपी थापासँग सोध्दा उनले बाँकी अनुसन्धान भइरहेको भन्दै बोल्न चाहेनन् ।

घटनाबारे सिसीटिभी फुटेज पनि बाहिरिएको अवस्थामा प्रहरीले त्यसतर्फ अनुसन्धान गरे पनि सिसीटिभीमा देखिएका दृश्यहरुबारे कुनै कुरा बाहिर ल्याएको छैन । जुन शंकास्पद देखिन्छ । यसको मतलब घटना सामसुम पार्ने दाउमा प्रहरी रहेको माइती पक्षको आरोप छ ।

यदि, प्रहरीेले घटनाबारे सत्य अनुसन्धान गरेको हो भने सिसीटिभी फुटेजका दृश्यहरुबारे पनि प्रष्ट पार्न माइती पक्षको माग छ । त्यस्तै, सुसाइड नोट वास्तविक हो भने पत्याउने आधार नै नरहेको माइती पक्षको दाबी छ ।

मृतक सीताका दाजु हरि पौडेलको माथिल्लो तहमा सम्बन्ध रहेकाले प्रहरीले घटना ढाकछोप गर्न अग्रसर भएको माइती पक्षको आरोप छ ।

प्रहरीले भने अझैँ घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीको अनुसन्धान एकातिर, मृतकका माइती पक्षको अडान अर्कातिर भएपछि घटना निकै जटिल बन्दै गएको छ ।

प्रहरीले ल्याएको प्रतिवेदनमा माइती पक्ष कुनै अवस्थामा सन्तुष्टि छैन । माइती पक्षको माग त्यहीँ छ– जसरी हुन्छ हत्यारा पत्ता लगाएर कानूनी कठघरामा उभ्याइनुपर्छ ।

यो पनि :

सीता भण्डारी मृत्यु प्रकरण  : प्रहरीको प्रतिवेदनजसरी सीताले ‘सुसाइड’ नै गरेकी हुन् ?

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV