१८ आश्विन २०७८, सोमबार
  • महेश्वर के.सी.

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । गत फागुन २१ गते तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएर पनि कार्यान्वन नभएपछि धर्ना सुरु भएको हो ।

विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिने क्रममा सोमबार काठमाडौँ जिल्ला समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय बबरमहलमा धर्ना दिइएको छ ।

विप्लव नेतृत्वका नेकपा कार्यकर्ताले प्रहरीले लगाएको निषेधित क्षेत्रलाई तोडेर धर्ना दिन खोेजेपछि प्रहरीले ब्यानर खोसेको थियो । प्रशासन कार्यालय अगाडिबाट बबरमहलमा कालो ब्यानरसहित र्याली लिएर विप्लवका कार्यकर्ताहरु आएका थिए । त्यहाँ पुगेर र्याली धर्नामा परिणत भएको थियो ।

 

धर्ना कार्यक्रममा बोल्दै जिल्ला सचिव तुलसीनारायणले बिनासर्त सम्पूर्ण नेता तथा कार्यकर्तालाई रिहा गर्न नेपाल सरकारलाई आग्रह गरे ।

गएको फागुन २१ गतेको तीन बुँदे सम्झौताअनुसार विप्लप समूहका नेताहरुमाथि लगाइएका सबै मुद्धा खारेज र बन्दीहरुलाई रिहा गर्ने भनिएको छ । तर, ओली सरकार गएर देउवा सरकार आगमन भए पनि अझैँसम्म तीन बुँदे सहमति कार्यान्वयनमा आउन सकेको छैन ।

तीन बुँदे सहमति भएको ५ महिना पूरा भएपनि सम्झौँताबारे सरकारले बुँदाका सहमति कार्यान्वयनमा चासो नदेखाए पछि विप्लव समूह आक्रोशित भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गरेको सहमतिको ५ महिना समय व्यतित हुँदासम्म लागू नगरी ओली सरकार विगठन भयो । यो राष्ट्रिय राजनीति, नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताको निम्ति धोकाजस्तो बिडम्वनापुर्ण कुरा हो । वार्ता र तीन बुँदे सहमतिले राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जन अपेक्षामाथि तुषारापात जस्तो भएको छ ।’

तत्कालीन ओली सरकारसँग सहमति कार्यान्वयनसम्बन्धी सरकार र पार्टीबिच सकारात्मक छलफल भएर जनतामा उत्साह पैदा भएको पनि विज्ञप्तिमा जारी छ । तर, अहिलेसम्म आइपुग्दा बन्दी नेता, कार्यकताहरु रिहा नहुनु र मुद्धा खारेज नहुनुले आक्रोस र चिन्ता पैदा भएको पनि विज्ञप्तिमार्फत भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV