
काठमाडौं । भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाडौंमा अन्दोलन गरेका छन् । सोमबार वव्यसायीले सडकमा सवारी साधन तेर्स्याएर आन्दोलन गरेका हुन् ।
व्यवसायीले सडकमा बस तेर्स्याई चाबी लिएर हिँडेका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा व्यवसायीले आन्दोलन गरेको हो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ सम्बद्ध सवारी भने फाटफुट रुपमा चलिरहेका छन् ।
पटकपटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि बागमती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरू आक्रोशित बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।
आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएको उहाँको भनाइ छ । प्रदशे सरकारले भाडा नबढाए चोक(चोकमा सवारी तेस्र्याएर आन्दोलन गर्ने महासंघको चेतावनी छ ।
संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको गत असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाए पनि छोटो दूरीमा चल्ने सवारीको भाडा वृद्धि भएको छैन ।