१८ आश्विन २०७८, सोमबार

काठमाडौं । जसो जसो बाजे उसो उसो सराद्दे । पितृहरुको स्मरणमा अहिले सोर सराद्दे चलिरहेको छ । पण्डित जीहरुलाई भ्याई नभ्याई छ । पण्डित जी अर्थात समाजमा बोलाउने र चिन्ने नाम हो बाजे । उनीहरुले जसरी सराद्दे गराउछन कर्ताहरुले गर्ने त्यसरी नै हो ।

कसैले ५ मिनेटमा सिध्याउँछन् सराद्दे त कसैले ५ घण्टा नै लगाइदिन्छन् । कसैले विधि विधान पूरा गरेर सराद्दे गराउँछन र कसैले झारा टार्ने तरिकाले स्वाहा पारिदिन्छिन् । अहिले घरका छत, आँगन, मठ मन्दिर, खोला किनारामा जताततै सराद्दे कर्म भएको देख्न पाइन्छ । दशैं अघि पितृहरुको नाममा गरिने यो कर्मलाई वास्तवमा हिन्दू धर्ममा विशिष्ट स्थानमा राख्ने गरिन्छ ।

त्यसमाथि अहिले पण्डित बाजेहरुको कमिको कारण यस्ता कर्ममा उनीहरुको अभाव पनि खड्किन थालेको छ । भनौ पण्डित बाजेहरु र यो देशका नेताहरु उस्तै भएका छन् अहिले । पण्डित बाजेहरु जति छन उनीहरुबाट नै कर्म चलाउनु पर्ने अवस्था छ भने नेताहरु पनि पार्टी भित्र जति छन, उनीहरुलाई नै मानिदिनु पर्ने भएको छ । त्यसमाथि नेता ज्यूहरु पनि कतिपय विधि विधानमा पार्टी चलाउन खोज्छन त कतिपय झारा टार्ने तरिकारले स्वाहा पारिदिन्छन ।

नेकपा एमाले फुट्यो, विभाजित नै भयो । तर के भयो केपी शर्मा ओली एक्लो नायक भए अब एमाले भित्र । उनले जसो जसो गर्छन त्यसरी नै चल्छ अब त्यो पार्टी । नेतृत्वमा एक्लो उभिनुको मजा नै यही हो बास्तवमा ।

पार्टीको नेतृत्वको हकमा लागू भएको ७० बर्षको उमेर हदमा देखाइएको बठ्याई नै पनि ओली एक्लो हुनुको तुजुक भन्दा केही होइन । एमाले चोइटिएको पीडाले धेरै कार्यकर्तालाई पोलेको छ ।

धेरैले व्यक्ति होइन अब पार्टीमा विधि हावी हुनुपर्छ भन्ने आवाज उठाए । एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरुको धारणा थियो–कार्यकारी पद र ७० वर्षे उमेर हदमध्ये एक हुनुपर्छ । तर, आइतबारको महाधिवेशन बैठकले प्रतिनिधिहरुको धारणामा आगो लगाइदिएर पूरै खरानी पारियो । र, फेरि उही पूरानै परिपाटी र थितिलाई स्थापित गरियो ।

एमालेमा पूरानै सिस्टमा चल्छ, कार्यकारी पद र ७० वर्षे उमेर हद ओलीको खटन हो भनेर उपमहासचिव विष्णु पौडेलले हाँसेर अथ्र्याइदिए ।

पार्टीमा व्यक्तिलाई प्राथमिकता दिइयो संस्थालाई ओझेलमा पारियो भन्ने प्रतिनिधिले उठाएको आवाजमा ओलीले ‘हामी व्यक्तिवादी होइनौँ, मूर्तिपूजक होइनौँ, संस्था पूजक हौँ’ भनेर उल्टो प्रतिनिधिको मुखमा बुझो पो हालिदिए ।

आदरणीय दर्शकवृन्द्ध देशभरबाट भेला भएका सात हजार बढी प्रतिनिधिहरुले विधान महाधिवेशनलाई ओली महाधिवेशन बनाएर टुंग्याए । उमेर हदमा लागू गरिएको ७० बर्षे प्रावधानलाई अब ओलीले आफ्नो अनुकुलतामा विधानमा समेटे ।

जतिसुकै बोले पनि आवाज उठाएपनि कस्को के लाग्यो र रु महाधिवेशनका सहभागीहरुले ताली बजाएर हाँस्दै उमेर हदको व्यवस्थालाई अनुमोदन गरे । धेरै प्रतिनिधिको मुखबाट एउटै भनाइ निस्किरहेको थियो ‘जसो जसो बाजे उसो उसो सराद्दे ।’

यता सत्ता नेतृत्व गरिरहेको नेपाली काँग्रेसको महाधिवेशन धमाधम छ । महाधिवेशनको रौनक अहिले नगर भित्र प्रवेश गरेको छ । नगरको चुनावी परिणाम धमाधम आउँदा संस्थापन पक्षको हो कि संस्थापन इतरको हो भन्दै औला भाँच्नेहरुको पनि कमि छैन । काँग्रेस प्रजातान्त्रिक पार्टी । प्रजातान्त्रिक छवि बनाएको पार्टी । तर यही दल भित्र धेरै पटक अप्रजातान्त्रिक कदमहरु चाँलिदै आएका छन् ।

विशेषत पार्टी सभापतिलाई दिइएको अस्वभाविक अधिकारलाई लिएर सभापतिका कदमहरु बारम्बार आलोचित बन्दै आएका छन् । विधि विधान एकातिर पन्छाएर काँग्रेस भित्र सभापतिले चाल्ने कदमले सिंगो पार्टी समेत समय समयमा संकटमा पर्ने गरेको छ ।

सराद्दे गर्ने पण्डित जीहरुको कथा भन्दा फरक काँग्रेसका सभापति पनि बनेनन् । काँग्रेस भित्रका धेरै कर्महरु पनि जसो जसो बाजे उसो उसो सराद्दे हिसाबले टुंग्याउने गरिएको छ ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जति शक्तिशाली सम्भवत अन्य कुनै दलका अध्यक्षहरु पनि छैनन् । आफुलाई नेपालको रियल हिरो भन्न रुचाउने प्रचण्डले पछिल्ला केही दिनमा निराशाका भाषाहरु बोल्न थालेका छन् ।

यो किन हो उनैले जानुन । अहिलेसम्म पार्टी भित्र प्रजातान्त्रिक अभ्यास गर्न नै चुकेको माओवादी केन्द्रले पहिलो पटक तल्लो तहदेखि अधिवेशनको तयारी थालेको छ । तर विद्यार्थी संगठनको अध्यक्ष चुन्दा पनि प्रचण्डलाई नै गुहार्नु पर्ने अवस्था आउने माओवादी भित्र अन्य ठूला मुद्दामा पनि पार्टीको विधि विधान भन्दा पनि प्रचण्डको व्यक्तिगत विधान नै हावी हुने पक्का छ ।

यी राजनीतिक दलहरु मात्र नभइ अधिकांशको हविगत र चरित्र यही छ । प्रजातन्त्रको जतिसुकै दुहाई दिए पनि दलहरुको ताल हेर्दा पार्टीको आन्तरिक राजनीति र व्यवहारलाई नै प्रजातान्त्रिक बनाउन पहिला आवश्यक छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV