१८ आश्विन २०७८, सोमबार

बालबिक्रम कार्की

रौतहट ।  चन्द्रपुर नगरपालिकाको मुटु वडा नम्बर ४ को पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको एक टोलमा बाटो पानी पर्दा हिड्नै नहुने हिलो हुन्छ ।

बाटोमा बाटामा ठूला-ठूला खाल्डाहरु भएकोले आवतजावतमा अत्यन्तै समस्या पर्छ । जब पानी पर्छ, सो टोल डुबानै पर्छ। बाटोको हिलो र खाल्टोले आवतजावतमै सकस पर्नेगरेको स्थानीयको भनाइ छ ।

घरमा भएका सवारी साधन घरमै थन्काएर पैदलनै आफ्नो काममा उनीहरु जानुपर्छ। बाटोमा रहेको खाल्टो र हिलोका कारण स्थानीयले पटक पटक मोटरसाइकलबाट लड्नु परेको छ । कतिपयले चोटको सामना गर्नु परेको छ ।

लगभग ३ सय मिटर बाटो बनाइदिन भनेर धेरै पटक स्थानीयले नगरपालिका, वडा कार्यालय धाए र जनप्रतिनिधिसँग आग्रह गरे । सम्बन्धित निकायबाट स्थानीयले झुठो आश्वसनबाहेक अरु नपाएको स्थानीयको गुनासो छ ।

आफुहरुको समस्या देखेर पनि जनप्रतिनिधिहरुले नदेखेझै गरेको स्थानीयको राजन साह गुनासो गर्छन् । चन्द्रपुर नगरपालिका नेपाल सरकारको स्मार्ट सिटीको सुचिमा परेको छ ।

बजार स्मार्ट बन्नेमा विश्वास छैन स्थानीयलाई

यहाँका जनप्रतिनिधिहरु हरदम चन्द्रपुरलाई स्मार्ट सिटी बनाएर छोड्छौ जोडतोडका साथ लागेको बताउन छोडेका छैनन् । चुनावमा स्मार्ट सिटीको नारा घन्काउँदै भोट मागेका जनप्रतिनिधिहरुले चुनाव जितेको ४ वर्ष बढी समय भइसक्दा पनि सो नारा लगाउन छाडेका छैनन् । तर ४ वर्षमा ३ सय मिटर मात्र लामो बाटो बनाउन नसक्ने जनप्रतिनिधिहरुले पुरै नगरलाई स्मार्ट बनाउँछौ भन्ने कुरामा स्थानीयको बिस्वास छैन ।

राजमार्गले छोएको सो टोलमा हालसम्म विद्युतको पोल पनि छैन् । करिब ३० घर परिवार बसोवास गर्ने सो टोललाई आवश्यक पर्ने ६ वटा विजुलीको पोलको लागि दर्जनौँ पटक निवेदन लिएर विद्युत कार्यालय धाएका स्थानीयलाई विद्युत प्राधिकरणले पनि आजसम्म निरास बनाएका छन् ।

विद्युतको पोेल नहुँदा उनीहरु अर्को टोलमा रहेको विद्युतको पोेलबाट १५० मिटर भन्दा लामो तार खर्च गरेर वत्ति बाल्न बाध्य भएका छन् ।

सो टोलमा खानेपानी पनि भर्खरै पुगेको छ । त्यो पनि जनप्रतिनिधिहरुको पहलमा होइन स्थानीयले अर्को जिल्लाबाट आँफैले पाइप ल्याएर पानी खाने व्यवस्था गरेका स्थानीय कुमार घिमिरेले बताए ।

बाटो बिग्रिएका कारण सो टोलमा सामान लिएर जान कुनैपनि रिक्साहरु नमान्ने नमान्ने भएकाले स्थानीयलाई सामान ढुवानीमा समस्या परेको छ । बजारबाट खरिद गरेर ल्याएका सामानहरु बोकेर पैदलै हिडेर ल्याउनु पर्ने उनीहरुको बाध्यता रहेको छ ।

स्कुले बालबालिकाहरु हिलोसँग सिँगौरी खेल्न बाध्य

यहाँका बालबालिकाहरु विद्यालय जाँदा आउँदा पानी परिहाले हिलाम्ये सडकसँग सिँगौरी नै खेल्नुपर्छ । निर्वाचनका बेला घरघरमै आएर दुईहात जोड्दै भोट माग्ने जनप्रतिनिधिहरु नागरिकको गुनासो प्रति संवेदनशील नभएको स्थानी दुर्गा सिवाकोटी बताउँछन् ।

चन्द्रनिगाहपुर मेनचोकको चण्डिका आयल स्टोर्स पछाडि रहेको यो टोल सुगम नगरपालिकाको दुर्गम स्थान बन्न पुगेको छ । हालसम्म टोलको कुनै नाम नराखेका उनीहरु पछिल्लो समय आफ्नो टोललाई दुर्गम टोल नै भनरे परीचय दिन थालेका छन् । बत्ती मुनीको अध्यारो भनेझैँ यो टोल नगरपालिकाको सबैभन्दा सुगम वडामा रहेर पनि सामान्य सेवासुविधाबाट वञ्चित भएपछि दुर्गम बराबर भएको धेरैजसो स्थानीय बताउँछन् ।

जनप्रतिनिधिको प्रतिबद्धता कायमै

जनप्रतिनिधिहरु भने आफुहरुलाई सो टोलको जनताको समस्या थाहा भएको र केही दिनमै उनीहरुको माग सम्बोधन गर्ने बताउछन् ।

बाटो मर्मत तथा सहजताको लागि समोन्वय गर्ने चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अमर आलेले प्रतिवद्धता गरेका छन् ।

करिब १२ वर्षदेखि वस्ती बस्न सुरु गरेको यो टोलका बासिन्दाहरुको जनप्रतिनिधिहरुसँग खासै ठूलो माग छैन् । उनीहरुले बिग्रिएको बाटो ग्राभेल मात्रै गरे सहज बनाइदिए पुग्ने भन्ने हो ।

गोष्ठि, बैठक, अनुगमन आदि इत्यादिको नाममा वर्षैनी लाखौँ रकम खर्च गर्ने जनप्रतिनिधिहरुले यो टोलको लागि २ लाख खर्च गरिदिए मात्रै पनि स्थानीयको मागको सम्बोधन हुने अवस्था रहेको छ । तर यतिका सानो आकारको खर्च गरेर सडक सहज गर्न सम्बन्धित निकाय नलाग्दा स्थानीयले चर्कै आक्रोश पोखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV