१७ आश्विन २०७८, आईतवार
  • बाल बिक्रम कार्की,

रौतहट । रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिका विवादका बीच छैटौं नगरसभाको आयोजना गरिएको छ । नगर प्रमुख र उप्रमुखको समूहबीचको विवादका कारण असार १० गते हुनुपर्ने नगरसभा असोज १७ गते आइतबार आयोजना गरिएको हो ।

तर नगरसभा आयोजना हुनु अगावै उपप्रमुख रंगिलादेवी सहित २६ जनाले कार्यपालिका सदस्यले नगरसभा वहिष्कार गरेका थिए । सो नगरपालिकामा रहेका ४६ जना कार्यपालिका सदस्यहरुमध्ये वडा नम्बर २, ३, ४, ७ र ९ का वडाअध्यक्ष सहित २६ जनाले नगरसभा वहिष्कारको घोषणा गरेपनि नगर प्रमुख इन्नु राय यादवको समूहले नगरसभाको आयोजना गरेको हो ।

आइतबार (आज) हुने भनिएको नगरसभाका बारेमा नगरप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतले दुई थरीको सूचना जारी गरेका थिए । असोज १५ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद मुस्ताक आलमले प्रक्रिया नपुगेको भन्दै नगरसभा स्थगित भएको सूचना जारी गरेपनि त्यसको केही घण्टा पछि नगरप्रमुख यादवले नगरसभा स्थगित नभएको र निर्धारित मितिमै हुने भन्दै छुट्टै सूचना जारी गरेका थिए ।

नगरसभा सुरु हुनुअघि २६ जना कार्यपालिका सदस्यले पत्रकार सम्मेलनको आयोजना गर्दै नगरसभा बहिष्कारको घोषणा गरेका थिए । गरुडा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चुनचुन प्रसादले नगर प्रमुख यादवले बालबालिकाको भत्ता, वृद्ध भत्तालगायत नागरिकलाई उपलब्ध नगराएको र नगरसभा संचालन हुनुअघि सम्पन्न गर्नुपर्ने विभिन्न समितिको बैठकहरु नराखेको भन्दै नियम कानून नपु¥याइ जवरजस्ती आयोजना गर्न लागेको नगरसभामा आफूहरु सहभागी नहुने निर्णय गरेको बताए ।

उनले नगरपालिकाको देखाउने नगरप्रमुख इन्नु राय यादव भएपनि उनको सम्पूर्ण काम भने सो नगरपालिकामा कार्यालय सहायकको रुपमा कार्यरत उनका छोरा अनिल यादवले गर्ने गरेको आरोप लगाउँदै छोरा यादवको निर्देशनमा नगरपालिकामा वेथिति बढेको , विकास निमार्णका कामहरुमा भष्ट्राचार हुने गरेको जिकिर गरे ।

उपप्रमुख रंगीलादेवीले नगरपालिकालाई नगर प्रमुख यादव र उनका आसेपासेहरुले भष्ट्राचारको अखडा बनाएको र आफू विपरितका कार्यपालिका सदस्यहरुलाई वाइपास गरेर एकलौटी ढंगले नगरपालिका संंचालन गर्न लागेकाले आफूहरु त्यसको विरोधमा उत्रिएको बताइन् ।

उनले नगर प्रमुखले कानूनले दिएको आफ्नो अधिकार समेत मिचेर मनपरी ढंगले वजेट विनियोजन गर्ने गरेको, आय–व्यय पारदर्शी नगरेको, वडामा कार्ययोजनाको सिलिङ नपठाएको भन्दै नगरपालिकामा भएका भष्ट्राचारमा अख्तियारले पनि चासो देखाउनुपर्नेमा जोड दिइन् ।

सदस्य सचिवका रुपमा काम गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृतले स्थगित गरेको र उनी उपस्थिति नभएको नगरसभा अवैध रहेको ठोकुवा गर्दै उनले कानून विपरित गरिएको नगरसभाको विरुद्ध कानूनी उपाय खोज्ने बताइन् । ‘प्रमुख प्रशासकीय अधिकृत र वहुमत सदस्य बिनाको नगरसभा कसरी बैध हुन्छ ? उनले प्रश्न गरिन् ।

‘नयाँ प्रशासकीय अधिकृत नियुक्त गर्ने अधिकार नगरप्रमुखलाई छ र ? त्यसैले यो नगरसभा अवैध छ र यो विरुद्ध हामी अदातल जान्छौँ’, उनले भनिन् । यता नगरप्रमुख यादवले भने उपप्रमुखहरुको समूहले नगरसभा वहिष्कार गरेको बारेमा आफूलाई कुनै जानकारी नभएको भन्दै नियम, कानूनको अधीनमा रहेरनै नगरसभाको आयोजना गरिएको दावी गरे ।

‘वहिष्कार गरेको भए नगरसभामा आएर गर्नुपथ्र्यो’, उनले भने, ‘त्यसैले उनीहरुले वहिष्कार गरेको भन्न मिल्दैन् , अनुपस्थिति भएका हुन् ।’
नगरप्रमुखका छोरा अनिल यादवले उपप्रमुखहरुले अनावश्यक बखेडा झिकेर नगरसभालाई बन्धक बनाएको बताउँदै उनीहरुको वहिष्कारमा कुनै तुक नभएको जिकिर गरे ।

उनले आफू सो नगरपालिकामा कार्यालय सहायकको पदमा कार्यरत भएपनि आफूलाई नगरप्रमुख बुबाले पत्याएर दिएको जिम्मेवारी मात्र पूरा गरेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV