१७ आश्विन २०७८, आईतवार
  • दानबहादुर बुढा

मुगु । नेपाली काँग्रेसको १४ औं महाविधेशनअन्तर्गत मुगु जिल्लाको अधिवेशनमा सभापतिका संस्थापन पक्ष र पौडेल समूहबीच कडा भिडन्त हुने भएको छ । पौडेल समूहनिटक रहेका वर्तमान जिल्ला सभापति खड्ग बहादुर शाही र संस्थापन पक्षका पूर्वसभापति ऐन बहादुर शाहीबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

नेपाली कांग्रेसको वडा, गाउँपालिका, नगरपालिका सभा हुँदै जिल्ला सम्मको अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेले समूह र संस्थापन पक्षका शेर बहादुर देउवा समूहबीच छुट्टा छुट्टै प्यानल खडा गरेर दुई समूह चुनावी मैदानमा उत्रिएका छन् ।

पौडेल समूहतर्फबाट उपसभापतिमा हरिजंग शाही, उपसभापतिमै देविलाल मल्ल, सचिवमा कालिबहादुर नेपाली, सहसचिवमा लोकेन्द्र थापा, सहसचिवमै उर्गिन तामाङ्गको उम्मेदवारी दिएका छन् । देउवा समूहबाट उपसभापतिमा कर्णबहादुर रावल, उपसभापतिमै रतनबहादुर शाही, सचिवमा जन्मजया भण्डारी र लोकेन्द्रबहादुर मल्ल, सहसचिव शैलेन्द्र मल्ल र जनबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

अहिले जिल्लामा हुन गइरहेको नवौं महाधिवेशनमार्फत् आफ्नो समूह जिताउने अभियानमा दुई समूह सक्रिय भई लागिपरेका छन् । सदरमुकाम गमगढी बजारका मुख्य मुख्य स्थान तथा चोकहरुमा पोष्टर , पम्पलेटलगायतका प्रचारप्रसारका सामग्रीहरु टाँसिएको छ ।

हरेक क्षेत्रको प्रतिनिधित्व गर्नका लागि महिला, दलित, पिछडिएका वर्ग अपांङ्गलगायत आरक्षण कोटा निर्धारण भएपनि जिल्लाको नवौं महाधिवेशनमा यो लागू भएको छैन । समूहको प्यानल बनाएर महाधिवेशनमा उत्रिएको दुवै समूहमा महिलालगायत आरक्षण कोटाबाट अधिवेशनका लागि उम्मेदवारी शून्य छ ।

केन्द्रीय महाधिवेशनको तालिकाअनुसार असोज १५ गते नवौ महाधिवेशनको उद्धघाटन गर्ने समयसीमा तोकिए पनि समूहगत खिचातानीले १६ गतेमात्र उद्धघाटन सत्र सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV