१७ आश्विन २०७८, आईतवार

काठमाडौं । ईपीएस परीक्षा पास गरेर प्रक्रिया पूरा गरेका ५० जना नेपाली कामदार आगामी अक्टोवर २७ मा दक्षिण कोरिया जाने भएका छन् ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया सुरु गरेको र पहिलो चरणमा ५० जना नेपाली कामदार आगामी अक्टोवर २७ मा त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिए ।

उनले ११९ जनामध्ये पहिलो चरणमा ५० जनालाई पठाइने र अन्यको भिसा प्रक्रिया सुरु गरिने बताए । कोरिया जाने कामदारको क्वारेन्टाइन र बीमाका बारेमा देखिएको समस्या समाधान भइरहेको उनले बताए ।

प्रक्रिया पूरा गरेर बसेका अन्य कामदारको हकमा कोरियाबाट नामसहितको पत्र आएपछि पुन पठाउन सुरु गरिने उनको भनाइ छ । बैठकमा मुख्य सचिव शंकरदास बैरागीले कोरिया जानका लागि अहिले कोरियन एयरलाइन्सको मात्र सिधा उडान रहेकोमा निकै महङ्गो पर्ने देखिएको बताए ।

कामदार आफैले टिकट काटेर जाँदा लागत चार गुणासम्म महङ्गो पर्न जाने देखिएको उनले बताए । बैठकमा समिति सदस्यहरुले ईपीएस परीक्षा पास गरेका कामदारहरुलाई समेत दक्षिण कोरिया पठाउने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसअघि ईपीएस परीक्षा पास गरेर बसेका करिब १० हजार कामदारहरुले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी परेपछि समितिले चासो देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV