१७ आश्विन २०७८, आईतवार

एजेन्सी । अमेरिकामा गर्भपतन गर्न पाउनुपर्ने भन्दै दशौं हजार महिलाहरूले प्रदर्शन गरेका छन्। गर्भपतन अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यमा उनीहरुले प्रदर्शन गरेको जनाइएको छ ।

महिलाहरू टेक्सस राज्यको नयाँ कानूनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा प्रदर्शन गरेका हुन्। गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने पक्षधरहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन्।

अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले ‘रो भि वेड’ भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ।

प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडी ‘मार्च पास’ गरेका थिए। प्रदर्शनमा सहभागी एक महिलाले नारीको छनौट गर्न पाउने अधिकारका लागि आफू सहभागी भएको बताइन्।

गत सेप्टेम्बर १ मा टेक्ससका विधायकहरूले गर्भपतन विरुद्धका अभियानकर्मीले भन्दै आएको भ्रूणको मुटुको धड्कन सुरु हुन थालेपछि गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV