
गुल्मी । रुपन्देहीको तिलोत्तमा-५ की २७ बार्षीया सीता भण्डारी पौड्यालको रहस्यमय मृत्युलाई प्रहरीले आत्महत्या ‘ह्याङगिङ’ भनेर प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रहरीको प्रतिवेदन सार्वजनिक भएपछि माइती पक्ष थप आन्दोलित भएको छ ।
माइती पक्षले चिकित्सक र प्रहरीको सेटिङमा यो शव भएको आरोप लगाएको छ । माइती पक्षले मृतकको शव अस्पतालबाट उठाउन दिएको छैन । घटना घटेको आज एक महिना पूरा भएको छ ।
भदौ २० गते बिहान सीताको आफ्नै कोठाभित्र मृत्यु भएको थियो । माइती पक्ष उनको कोठामा पुग्दा उनी ओछ्यानमा थिए । उनको गलामा पासो, मुखबाट रगत बगिरहेको थियो । शरीरका विभिन्न भागमा निलडामसहित सिरानीमा टाउँको राखिएको अवस्थामा सीताको शव फेला परेको थियो ।
मृतक सीताका जेठाजु हरि पौडेल तिलोत्तमा नगरपालिका–५ का वडा सदस्य हुन् । उनी नेकपा एमालेबाट विजयी भएका हुन् । राज्यको माथिल्लो निकायसँग सम्बन्ध राख्ने उनकै सेटिङका कारण प्रहरीले घटनाबारे सत्य छानविन नगरेको मृतक पक्षको आरोप छ ।
अहिले सीताको शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ । शुक्रबार रुपन्देही जिल्ला प्रहरी कार्यालयले सीताले आत्महत्या गरेर अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेर शव बुझाउन खोजे पनि माइती पक्षले प्रतिवेदनमा सत्यता नभएको भन्दै न्याय नपाएसम्म शव उठाउन नदिने अडान दोहोर्याएको छ ।
के छ प्रहरीको प्रतिवेदनमा ?
प्रहरीको अनुसन्धान प्रतिवेदनमा मृतक सीताले आत्महत्या गरेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘मृतक सीता भण्डारी पौड्यालको प्राप्त शव परीक्षण प्रतिवेदनमा निजको मृत्युको कारण झुण्डि मृत्यु भएको उल्लेख भएको ।’
यसैगरी मृतक सीता र उनका श्रीमान टिका पौड्यालबीच मोबाइलमा त्यस दिन भएको कुराकानी चेकजाँच गरिएको पनि प्रहरी अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ । ‘मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनि भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ भनेर प्रतिवेदनमा लेखिएको छ ।
मृतक सीताले भदौ २० गते राति १२ बजेर १७ मिनेटमा उनका श्रीमानलाई आइफोन मोबाइलको नोटमा लेखेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । यसबारे अझैँ सत्य तथ्य अनुसन्धान गर्न डिजिटेल फोरेन्सिक ल्याबमा पठाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।
को हुन्, टिका पौड्याल ?
मृतक सीताकी श्रीमान टिका पौडेल तानसेनस्थित दि दरबार कटेज एण्ड रिर्सोट सञ्चालन गर्दै आएका छन् । टिकाले श्रीमती सीतालाई घटना घट्नुअघि पनि पटक पटक शारीरिक, मानसिकलगायत यातना दिने गरेको माइतीपक्षको आरोप छ ।
माइती पक्षका अनुसार भदौ ६ गते श्रीमतीलाई माइतीमै छाडेर श्रीमान पौड्याल तानसेन फर्किएका थिए । तर, टिकाको यातना सहन नसकेका सीताले आमा पुनम भण्डारीसँग अब तानसेन नजाने बरु आफूलाई यतै जागिर खोज्दिन भनेको माइती पक्षको भनाइ छ । तर प्रहरी प्रतिवेदनमा सीताले लेखेको भनिएको ‘‘सुसाइड नोट’मा श्रीमानप्रति अगाध माया देखिन्छ ।
यसअघि घटनाबारे सार्वजनिक भएको सिसीटिभी फुटेजबारे पनि विश्लेषण भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । तर, सिसीटिभी फुटेजबारे विस्तृत जानकारी भने छैन ।
मृतक सीताका बुवा के भन्छन–
मृतक सीताका बुवा हरिप्रसाद भण्डारी प्रहरीले ल्याएको अनुसन्धान प्रतिवेदनमा कुनै सत्यता नरहेको र सबै बनावटी रहेको बताएका छन् । साथै, छोरी सीताले आत्महत्या गर्नै नसक्ने उनको दाबी छ ।
‘प्रहरीको यो प्रतिवेदन सराबर बनावटी छ । प्रहरी र डाक्टरको मिलोमोतमा त्यस्तो प्रतिवेदन ल्याइएको छ । हामीले न्याय नपाएसम्म छोरीको शव उठाउन दिँदैनौँ । मेरी छोरीले आत्महत्या गरेर मर्नै सक्दिनन्, ज्वाँई एक्लैले उनको हत्या गर्नु थियो भने तानसेनमै एक्लो भएको बेला हत्या गर्थे होला,’ मृतक सीताका बुवा भन्छन्, ‘परिवारकै मिलोमोतोमा हत्या गरिएको हो । प्रहरीको प्रतिवेदन हामी पीडितका पक्षमा आएन । पीडकहरुकै पक्षमा आएको छ । हामी त्यसलाई स्विकार गर्दैनौँ ।’
‘सुसाइड’ नोट कसरी आयो ?
मृतक सीताका बुवाले छोरीले आत्महत्या गर्नुअघि सुसाइड नोट लेखेको भन्ने प्रहरीको प्रतिवेदन रहस्यमय भएको बताएका छन् । उनका अनुसार छोरीले पहिले यसबारेमा केही नआएको तर, अहिले कसरी एक्कासी आयो ? यो रहस्यम छ ।
उनले भने, ‘मेरी छोरीले त्यस्तो सुसाइड नोट लेखेको भए किन पहिले नै त्यो कुरा बाहिर आएन र अहिले कसरी आयो ? यो सरासर मिलेमतो गरेर प्रतिवेदन ल्याइएको छ ।’
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक (डिएसपी) सत्यनारायाण थापालाई यसबारेमा प्रश्न गर्दा अनुसन्धान जारी रहेको र पहिले नै उक्त कुरा भन्न नमिलेको बताएका छन् ।
‘सुरुमै हावाको तालमा ती कुराहरु बाहिर ल्याउने कुरा भएन । हामीले मात्र नभई सिआइबीको टोलीसमेत आएर अनुसन्धान गरिरहेको थियो । फरेन्सी ल्यावमा लगेर मोबाइल परीक्षण गर्दा सुसाइड नोट लेखेको खुल्न आएको हो । हामीले लुकाउनै पर्ने कारण त केही छैन ।’
माइतीमा रहेकी सीतालाई श्रीमान टिकाले भदौ १९ गते दिउँसो फोन गरेर ‘आज घर जाऊँ भतिजीको बर्थडे पार्टी छ, म साँझ आउँछु’ भनेका थिए । त्यसपछि माईतीबाट घर फर्केकी उनी भोलिपल्ट २० गते मृत अवस्थामा आफ्नै ओछ्यानमा फेला परेकी थिइन् ।