१६ आश्विन २०७८, शनिबार

काठमाडौं । साविक बिजेता विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै होङ्गवान्जी न्यू डायमण्ड क्लबले वाईवाई डाईनामाईट एनभिए महिला भलिबलको उपाधि जितेको छ ।

यस्तै साविक बिजेता टिपटप हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पुरुष तर्फको ट्रफीमा आफ्नो नाम लेखाउन सफल भएको छ ।

शनिबार सम्पन्न खेलमा डायमण्डले एपीएफ माथि ३–१ को जित निकाल्दै ट्रफी उचालेको हो । राष्ट्रिय खेलाडीहरुको बर्चस्व रहेको विभागीय टोलीसंग पहिलो सेट २४–२६ ले गुमाउन पुगेको डायमण्ड पछि सम्हालिंदै लगातार तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो ।

दोश्रो सेटमा २५–२१ ले जित निकालेको डायमण्डले तेश्रो सेट २५–१७ र चौथो सेट २५–१५ ले जित्दै उपाधिलाई आफ्नो पक्षमा पारेको हो ।

सेनाको त्रिभुवन आर्मी क्लबले पुलिसलाई पराजित गदै तेश्रो स्थान प्राप्त ग-यो । सेनाले पुलिसलाई २५–१७, २५–२०, २५–१७ को सहज जित निकाल्दै तेश्रो स्थान सुरक्षित गर्न सफल भएको हो ।

महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनिइन् । यस्तै वेष्ट सर्भरमा सेनाकी संगम महतो, वेष्ट डिफेन्डरमा डायमण्डकै सलिना महर्जन, वेष्ट सेटरमा डायमण्डकी अरुणा शाही, वेष्ट स्पाईकरमा सेनाकी शान्ति थारु, वेष्ट ब्लकरमा एपीएफकी सरस्वती चौधरी घोषित भए ।

यस्तै डायमण्डका कुमार राई महिला तर्फको उत्कृष्ट प्रशिक्षक बन्न सफल भए । च्याम्पियन टोलीले नगद ४ लाख प्राप्त ग-यो भने उपबिजेता टोलीले नगद २ लाखसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो भएको सेनाको त्रिभूवन आर्मी क्लबले नगद १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त ग-यो ।

यस्तै उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

सेनालाई पुरुषतर्फको उपाधि

यसैगरी साविक बिजेता टिपटप हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले पुरुष तर्फको ट्रफीमा आफ्नो नाम लेखाउन सफल भएको छ । सेनाले जित हात पार्ने क्रममा पहिलो सेट २६–२४ को संघर्ष पूर्ण जित निकाल्यो ।

दोश्रो सेट १७–२५ ले हेल्प नेपाललाई सुम्पन पुगेको सेनाले तेश्रो सेटमा सम्हालिँदै २५–१८ ले आफ्नो पक्षमा पा-यो । चौथो सेट निकैनै रोमाञ्चक रुपमा ३३–३१ को सघर्षपूर्ण जित निकाल्दै सेनाले ट्रफीलाई आफ्नो पकडमा लिएको हो ।

च्याम्पियन टोलीले नगद ४ लाख प्राप्त ग-यो भने उपबिजेता टोलीले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
दशरथ रङ्गशालमा भएको प्रतियोगिताको पुरुष तर्फ एपीएफ क्लबलाई ३–० ले पराजित गर्दै पुलिसले तेश्रो स्थान प्राप्त ग-यो ।

पुलिसले एपीएफलाई २५–१७, २५–१८ र २५–१४ को सहज जितका साथै नगद १ लाख प्राप्त गरेको हो । पुरुष तर्फ सेनाका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए ।

यस्तै वेष्ट सर्भरमा सेनाका दुर्गा खड्का, वेष्ट डिफेन्डरमा एपीएफका विनोद चन्द, वेष्ट सेटरमा पुलिसका ईमबहादुर राना, वेष्ट स्पाईकरमा हेल्प नेपालका विनित कुमार, वेष्ट ब्लकरमा सेनाका हरि अधिकारी घोषित भए ।

उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवन राम श्रेष्ठ, सांसद विमल केडिया लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV