१६ आश्विन २०७८, शनिबार
  • भगतराम थारु,

नेपालगञ्ज । नेपालीहरुको महान पर्व दशैं नजिकिएसँगै बाँकेको नेपालगञ्ज भन्सार नाका हुदै दैनिक २ हजार नेपाली नागरिकहरु स्वदेश फर्कने गरेका छन् । लकडाउन खुकुलो भएसँगै नेपाल–भारतको सीमा नाका जमुनाहामा पनि चेकजाँच खुकुलो बनाएको छ ।

सल्यानका जंगबहादुर खड्का ६ महिना अघि कामको शिलशिलामा भारतको हिमाञ्चल प्रदेश कुल्लु मनाली गएका थिए । उनी शनिबार बिहानै हस्याङ फस्याङ गर्दै जमुनाहा नाका आइपुगे । आफ्नो शरीर भन्दा ठूलो भारी बोकेका उनलाई जमुनाहा नाकामा खटिएका सुरक्षाकर्मीले कोरोना परीक्षणका लागि हेल्थ डेस्कतर्फ पठाए ।

एन्टिजेन प्रविधिबाट कोरोना जाँच गराएर उनी आफ्नो साथीभाईसँग नेपालगन्ज तर्फ लागे । खड्काले आफ्नो परिवारसँग दशैँ र तिहार मनाउन घर फर्किएको बताए । उनी भन्छन्, ‘भोको पेटले भारत लग्यो, दसैँ र तिहारले स्वदेश फर्कायो ।’

‘कोरोनाको डरका बीच पनि भारतमा काम गर्न पुगियो । दशै आयो घरको यादले सतायो’, दाङका माधव विश्वकर्माले भने । त्यस्तै राराका भीम बहादुर नेपाली पनि शनिबार विहानै जमुनाह नाका आइपुगे ।

कामका लागि भारतको चण्डीगढ गएका उनी पनि चाडपर्व मनाउनकै लागि स्वदेश फर्किएको बताउँछन् । दसैँ नजिकिएपछि अर्काको देशमा बस्न मनले नमानेको उनको भनाइ थियो । किराना पसलमा काम गर्ने भीम बहादुर भिनाजु र दिदीसंगै घर फर्किएको बताउँछन् ।

पढाई नभएको कारण विदाको सदुपयोग गर्न भारत कमाउन गएको उनले बताए । पढाई नहुने र घरको स्थिति पनि नाजुक भएको कारण भारत कमाउन गएको उनले बताए ।

‘खान, लाउन समस्या भएपछि कामको खोजीमा भारत गएको थिए । विद्यालयहरु खुलिसके अब पढाईलाई निरन्तरता दिन्छु’, उनले भने । चाडपर्व नजिकिएपछि मन थाम्न नसकेर काम छोडेर स्वदेश फर्किएको उनले बताए ।

कर्णाली प्रदेशको सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कालिकोट, जुम्लालगायत सुदूरपश्चिमको अछाम र लुम्बिनी प्रदेशका दाङ, रुकुम पश्चिम, रोल्पा र प्यूठानका सर्वसाधारण नेपालगञ्ज नाका भएर आउने गरेका छन् ।

भारतबाट आउनेहरु चाडपर्व मनाउन कै लागि स्वदेश फर्किएको बताउँछन् । ‘काम राम्रो थियो, कमाई पनि चित्त बुझ्दो थियो । तर, काम र दाम भन्दा चाडपर्व ठूलो लाग्यो । चाडपर्वले काम छोड्न बाध्य बनायो’, बबई गाउँपालिका–४ का निमबहादुर बस्नेतले भने ।

खड्का, विक, नेपाली र बस्नेत जस्तै दसैँ र तिहार मनाउनका लागि स्वदेश फर्किने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालगञ्ज नाकाबाट दैनिक दुई हजार नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV